Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ६ माघ। बाम गठबन्धनको एकता संयोजन समितिको बैठक आइतबार सिंहदरवारमा बस्ने भएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज शनिबार पनि भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको शनिबारको बैठकमा आइतबार बस्ने संयोजन समितिको बैठकको एजेण्डाबारे छलफल भएको छ । ओलीका प्रेस संयोजक चेतन अधिकारीले केही मुख्य एजेण्डाका बारेमा दुई अध्यक्षबीच गम्भीर छलफल भएको बताए । दाहाल ओली भेट्न बालकोट पुगेका थिए । ओलीको भनाई उद्घृत गर्दै अधिकारीले भने ‘ आइतबारको बैठकमा केही महत्वपूर्ण निर्णय हुन सक्छ ।’ आइतबार दिउँसो ३ बजे एमाले संसदीय दलको कार्यालयमा एकता संयोजन समितिको बैठक बोलाइएको छ । यसअघि पटकपटक एमाले संसदीय दलको कार्यालयमा नै बसेको बैठकले राष्ट्रियसभाका उम्मेदवार छनौटसम्वन्धी गृहकार्य गरेको थियो ।

प्रदेशका मुख्यमन्त्रीसहित प्रदेशका सभामुख र अन्य महत्वपूर्ण जिम्मेवारी बाँडफाँटसम्वन्धी पनि छलफल भएको जनाइएको छ । २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा बाम गठबन्धनको सरकार बन्दैछ । स्रोतका अनुसार ६ र ७ नम्बर प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने छ भने अरुमा एमालेले मुख्यमन्त्री बनाउने छ । एमाले र माओवादीमध्ये नै मुख्यमन्त्री नपाउने अर्को दलले सभामुख पाउने छ । ६ सदस्यीय कार्यदलले ५६ मध्ये राष्ट्रियसभामा एमालेका तर्फबाट २९ र माओवादी केन्द्रका तर्फबाट १४ जना उम्मेदवार उठाउने सहमति गरेको थियो ।

सहमतिबारे दुबै अध्यक्षलाई जानकारी गराइएको छ । राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा र प्रदेश सरकारको विषयमा छलफल गर्न बाम गठबन्धनको कार्यदल बनाइएको हो । बाम गठबन्धनको झण्डै दुई साताअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले एमाले र माओवादी केन्द्रका तीन÷तीनजना सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट सुवासचन्द्र नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डे, शंकर पोखरेल र माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र मातृकाप्रसाद यादव रहेका छन् । गठबन्धनले राष्ट्रियसभाका उम्मेदवारको नाम टुंग्याएको छैन ।

पटकपटक बैठक बसेर आन्तरिक रुपमा पार्टी एकतासम्वन्धी तयारी गरिसकेको भनिएपनि पदको व्यवस्थापनका विषयमा कुनै टुंगो लागेको छैन । धेरै नेताहरु आकांक्षी भएकाले पद व्यवस्थापन गठबन्धनलाई चुनौती बनेको छ । बैंककमा स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका ओली र दाहालबीच शुक्रबार पनि ‘वान टु वान’ वार्ता भएको थियो । कार्यदलले तयार पारेको राष्ट्रियसभा उम्मेदवारका बिषयमा दिएको प्रतिवेदनमा छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । अघिल्लो साता बसेको एमालेको सचिवालयको बैठकले राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवारको मापदण्डको बारेमा ६ वटा बूँदा अघि सारेको थियो ।

एमालेले तयार पारेको मापदण्डमा स्थानीय तहको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हारेका तथा समानुपातिकको बन्दसूचीमा भएकालाई राष्ट्रियसभा सदस्य नबनाउने उल्लेख छ । संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीमा वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कलासाहित्य, विज्ञान, प्रविधि लगायतका सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका, स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समावेशी सूचीमा नाम समावेश नभएकालाई प्रदेशसभाको उम्मेदवार बनाउन सक्ने एमालेले जनाएको छ । पार्टीले उम्मेदवार सिफारिस गर्दा भौगोलिक र सामाजिक सन्तुलन पनि मिलाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया