Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

वीरगञ्ज, २१ चैत्र । बारापर्सामा असिनापानीसहित आइताबार आएको विनाशकारी हावाहुरीमा भएको धनजनको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने भएको छ । क्षतिको प्रारम्भिक विवरण भने तयार भएको छ । बारा र पर्सामा दुई हजारभन्दा बढी घर बस्न नहुने गरी पूर्ण क्षति भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा कन्हैयालाल केसरी र शिवशङ्कर मिश्रले लेखेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृह मन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार बारामा मात्र हावाहुरीका कारण एक हजार ८९५ घरमा पूर्ण क्षति पुगेको छ । यसैगरी ९५५ घरमा भने आंशिक क्षति भएको छ । हावाहुरीले तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकीमा समेत क्षति पुर्याएको छ । पर्सामा भने ४३७ घर क्षतिग्रस्त भएका छन् ।

हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको परवानीपुरको वडा नम्बर–४ का चैनपुर, शिवपुर, रामटोल, बिर्ताटोल रहेका छन् । त्यहाँ ५४८ घरमध्ये तीन सय पूर्ण क्षति र २४८ आंशिक क्षति पुगेको हो । यसैगरी सुर्वण गाउँपालिकाको वडा नम्बर १, ४, ५, ८ मा गरी ४३४ घरमा क्षति भएको छ । पूर्ण क्षति २६१ र १७३ घरमा आंशिक क्षति भएको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया