Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडाैं, २० चैत्र । जन्मको आधारमा नागरिकता प्राप्त गरेकाका सन्तानलाई सरकारले पुनः नागरिकता वितरण गर्ने भएको छ । उनीहरुलाई वंशजको आधारमा नागरिकता दिन गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो ।

नेपाल नागरिकता ऐन, २०६३ संशोधनका लागि संसदमा विधेयक पेश भएपछि सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेकाको सन्तानलाई नागरिकता दिएको छैन । नागरिकता वितरण रोकिएपछि अन्यायमा परेको गुनासो गर्दै प्रभावितले सर्वोच्च अदालतसमेत गुहारेका थिए ।

सर्वोच्चले प्रभावितकै पक्षमा फैसला गरेको थियो । सर्वोच्चको फैसला र सेवाग्राहीको गुनासोपछि गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय गरेको हो ।

गृहले यसबारे ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । नागरिकताबाट वञ्चित हुँदा शैक्षिक तथा अन्य वृत्ति विकासमा समेत समस्या भएको भन्दै गृहले प्रशासनिक निर्णय गरिएको जनाएको हो ।

संघीय संसद्को दोस्रो अधिवेशनको सुरुवातमा नै नागरिकता ऐन संशोधनका लागि विधेयक दर्ता भएपनि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सात महिनादेखि छलफल जारी छ । विधेयकका प्रावधानमा विवाद भएपछि राजनीतिक सहमति समेत खोज्ने समितिले उपसमिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया