Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, १८ चैत्र । आइतबार राति बारा र पर्सामा आएको भीषण हावाहुरीले अहिलेसम्म कम्तिमा २७ जनाको मृत्यु भएको छ । ६ सय भन्दा बढी घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

हावाहुरीका कारण यति ठूलो जनधनको क्षति भएको घटनाको पूर्वानुमान किन हुन सकेन ? यदि यसो हुन सकेको भए केही सतर्कता अपनाउने अवस्था हुन्थ्यो कि ? अहिले यस खालका प्रश्न समेत उठिरेहका छन् । तर, मौसमविद्का अनुसार अहिले भएको नेपालको मौसम पूर्वानुमान सम्बन्धी सिस्टम (प्रणाली) ले आइतबारको जस्तो क्षति हुने गरी हावा हुण्डरी चल्छ भन्ने पूर्वानुमान नै गरेको थिएन ।

मौसमविद् मिनकुमार अर्यालले सोमबार बिहान बाह्रखरीसँगको कुराकानीमा भने,“सामान्य मनसुनको मात्रै संकेत हाम्रो सिस्टमले गरेको थियो । तर, एक्कासी यस्तो भयो । हाम्रो सिस्टमले पूर्वानुमान नै गर्न सकेन ।”

उनको भनाइ थियो, “हिजोको अवस्थाको पूर्वानुमान किन गर्न सकिएन भन्ने बारेमा थप अनुसन्धान (रिसर्च) नै गर्नुपर्ने भएको छ । अहिले नै यसै भन्न सकिएन ।”

उनका अनुसार भारतको मध्यप्रदेशबाट आएको वायु र स्थानीय स्तरकै वायुका कारण पनि निम्न चापीय क्षेत्रमा त्यो खालको अवस्था आएको हो । उनले न्यूनचापीय वायु र आकाशबाट खसेको बायु मिसिँदा यस्तो अवस्था आएको हुन सक्ने बताउँदै भने,“यसैका कारण हावाहुरीका साथै मेघ गर्जन तथा चट्याङ समेत परेको पाइयो ।’’

मौसमविद् अर्यालका अनुसार ग्लोबल तहबाट परेको प्रभावका बारेमा नेपालको अहिलेको सिस्टमले गरेको पूर्वानुमान मिल्ने भएपनि स्थानीय स्तरमा अकस्मात आइपर्ने समस्याका बारेमा भने अहिलेको सिस्टमले काम नगर्ने गरेको जनाए ।

यसमा थप प्रष्ट पार्दै उनले भने,‘‘भूमध्यसागरदेखि आउने वायुको बारेमा हाम्रो सिस्टमले उपयुक्त ढंगले प्रक्षेपण गर्न सक्छ । तर, राजधानीमा नै एकातिर पानी पर्ने र अर्कोतिर घाम लाग्ने अवस्थाको बारेमा ठाउँ नै तोकेर सानो स्तरको प्रक्षेपण हाम्रो सिस्टमले गर्न सक्दैन । त्यही भएर हिजोको अवस्थाको बारेमा पनि पूर्वानुमान गर्न सकेन ।”

आइतबार बारा र पर्साका अतिरिक्त राजधानी काठमाडौंमा पनि ठूलो हावाहुरी आएको थियो । मौसमविद्का अनुसार आज पनि देशका विभिन्न भागमा मौसम बदली हुने अवस्था रहेको छ । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागहरुमा आंशिक बदली हुनेछ । त्यस्तै, देशको पहाडी भेगको थोरै स्थानहरुमा र पुर्वी तराई भेगका एक दुइ स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको जनाइएको छ ।

त्यस्त, आज राति देशका पूर्वी भेगमा आंशिक देखि सामान्य बदली रहने तथा पश्चिम र मध्यका पहाडी भूभागहरुमा आंशिक बदली हुने जनाइएको छ । बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने र पूर्वी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । भोलि मंगलबार पनि मौसम देशैभरी बदलीकै अवस्था रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया