Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

धरान, १८  चैत्र  । बिना अनुमति सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ मा पर्ने श्रीलङ्का टापुको गरैयास्थित २ सय ३० बिघा सरकारी जग्गामा ट्याक्टर लगाएर खनजोत गरिएको छ ।

उदयपुरका नारायण कार्कीसहितको समूहले सरकारी जग्गा जोतेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् । स्थानीय रघु चन्द्रवंशीका अनुसार स्थानीयवासीले पहिला जोतभोग गर्दै आएको सो जमिन विद्यालय, स्वास्थ्यचौकी, मन्दिर र गौचरनका लागि भनेर छाडिएको थियो । अहिले कार्कीको समूहले दैनिक सातवटा ट्याक्टर लगाएर जोतेपछि आफूहरू विरोधमा उत्रिएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘यहाँको सबै जमिन सरकारी हो तर हामीले जोतभोग गर्दै आएको जग्गा समाजको हितका लागि छाडेका थियौं, अहिले बाहिरका दलाल आएर जोतिरहेछन् ।’ पहिला पनि केही व्यक्तिले यसरी नै सरकारी जमिन जोतेर बेच्ने गरेकाले स्थानीयहरू अहिले पनि जग्गा अतिक्रमण गरेर बेच्न खोजिएको हो कि भन्ने आशङ्कामा छन् । स्थानीय भीरगुराम चन्द्रवंशी भन्छन्, ‘पहिला पनि धेरैले शुरुमा खेती बनाउने त्यसपछि बिघाको ५०–६० हजारले बेच्ने गरेका थिए । अहिले पनि यो समूहमा तिनै मान्छेहरू छन् ।’

सप्तकोशीबाट विस्थापितहरू श्रीलङ्का टापुको खाली जमिनमा खेती र पशुपालन गरी बस्दै आएका छन् । पछिल्लो समय विभिन्न ठाउँबाट सस्तोमा सरकारी जग्गा किन्दै बसोबास गर्नेहरूको सङ्ख्या बढ्दो छ । गरैयामा सरकारी कार्यालयका नाममा जनता आधारभूत विद्यालय र स्वास्थ्यचौकी छन् । स्थानीयले त्यही विद्यालय र स्वास्थ्यचौकीका लागि छाडेको जमिन अहिले धमाधम खनजोत भइरहेको हो । स्थानीयले भने सुनसरीको जमिन हडपेर उदयपुरको बनाउन खोजिएको र त्यसमा वराहक्षेत्रका मेयर निलम खनालसमेत मिलेको आशङ्का गरेका छन् ।

ट्याक्टर लगाएर सरकारी जमिन जोत्ने नारायण कार्कीले त्यो जमिननजिकैको सरकारी जमिनमा करोडौं रुपैयाँ व्यक्तिगत लगानीमा पशुहाट समेत निर्माण गरिरहेका छन् । कोशी क्षेत्रको जङ्गलमा ग्वालाहरूले छाडेका हजारौं गाई, गोरु जङ्गलीरूपमा बसेका छन् । कार्कीले ती गाई, गोरु समातेर थुन्ने र बेच्ने योजनाका साथ पशुहाट निर्माण गरिरहेका हुन् । उनको निर्माणाधीन पशुहाटमा हाल १७ वटा गाई, गोरु छन् । ती सबै जङ्गलबाट समातेर ल्याइएका हुन् । उनले जङ्गली गाई, गोरु समाउन मासिक २५ हजार तलब दिने गरी विज्ञापन खुलाएका छन् । सो कामका लागि ६० युवाले निवेदनसमेत दिएका छन् ।

जङ्गलमा रहेका गाई, गोरुले स्थानीयको बाली खाएर सखाप पारेकाले तिनलाई समाउने र हाटमा बिक्री गर्ने उनको योजना छ । कार्कीले जङ्गलबाट समातिएका गाई, गोरुको मलबाट तरकारीका बिरुवा उत्पादन गर्ने र जोतिएको जमिनमा खेती गर्ने योजनासमेत रहेको बताए । उनले आफूले स्थानीयको सहजताका लागि सहयोग मात्र गरेको दाबी गरे । त्यहाँ उत्पादन भएका तरकारी कतारमा बिक्री गर्ने सम्झौतासमेत भएको उनले जनाए । उनले भने, ‘त्यहीँको समूहले तीतेकरेला, साग, लहरे बोडी, पालकजस्ता तरकारी खेती गर्ने हो । म त्यसलाई विदेशमा निर्यात गरिदिन्छु ।’

कार्कीले यो क्षेत्रमा उदयपुर र सुनसरीको सीमा विवाद रहेकाले केही समस्या आएको बताउँदै दुवैतर्फका जनप्रतिनिधिसँग सहमति भइसकेको बताए । जमिन रहेको क्षेत्र वडा नं. ९ का अध्यक्ष दीपक लिम्बू भने वराहक्षेत्रको जमिन बिना अनुमति भूमाफियाहरूले खनजोत गरिरहेको बताउँछन् । जमिन जोतिएको बारे बुझ्न जाँदा कार्कीले उल्टै झगडा गरेको बताउँदै उनी भन्छन्, ‘हामीले कृषि फर्म नै गर्ने भए दुवै नगरपालिकाबीच समन्वय गरेर, प्रक्रिया पूरा गरेर गर्नुस् भन्यौं तर उनीहरूले आफूखुशी जग्गा हडप्न खोजे ।’ वराहक्षेत्र नगरपालिकाका मेयर खनालले आफूलाई जमिनको फोन र पत्र आएको तर कसैलाई सहमति नदिएको बताए । उनले यो विषयमा बुझ्न फोन सम्पर्क गर्दा कुरा गर्न चाहेनन् । यो विषयमा ‘भोलितिर कुरा गरौंला’ भन्दै उनले फोन काटे । ब्लाष्ट खबर

 

तपाईको प्रतिक्रिया