Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, १७ चैत्र । नेपालबाट गएको एक पर्यटक बसले भारतको उत्तर प्रदेशको पिलिभिटमा एक कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । इन्डियन एक्सप्रेसले आज जनाएअनुसार घटना शनिबार बिहान भएको हो । उक्त घटना उत्तर प्रदेशको खमारिया गाउँको पिलिभिट–बरेली सडकमा भएको थियो ।

सो बसमा रहेका नेपालबाट गएका केही यात्रुहरु समेत घाइते भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । सो बस प्रहरीले नियन्त्रणमा लिएको र चालक भने भागेको समाचारमा जनाइएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ६० वर्षीय मुन्ने मन्सरी, उनकी पत्नी ५४ वर्षीया मुन्नी बेगम, मन्सरीका जेठान ५५ वर्षीय जमील अहमद, जेठानकी पत्नी ४७ वर्षीया नसरिन बेगम र नसरिनका ज्वाईं २५ वर्षका आजम रहेको प्रहरीले जनाएको छ । पिलिभिटका प्रहरी अधिकृत योगेन्द्र कुमारले कार बरेलीतर्फ जान लाग्दा नेपालको पर्यटक बससँग ठक्कर खाएको, आगलागीसमेत भएको र खाल्डोमा परेको जनाएका छन् ।

उनीहरुलाई तत्काल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार बसमा रहेका ५ जना यात्रु पनि घटनामा सामान्य घाइते भएका छन् । लापर्बाहीका कारण मानिसको मृत्यु भएको भन्दै नाम नखुलेका चालकविरुद्ध फस्ट इन्फर्मेसन रिपोर्ट (एफआइआर) दर्ता गरिएको प्रहरीले जनाएको छ । बसका बाँकी यात्रुले भने सो स्थान छोडिसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया