Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि केन्द्रीय कार्यालयमा छानबिन अघि बढाएको हो।

पार्टी नेताहरूकै ‘असहयोग र अन्तर्घात’ ले चुनाव हारेको भन्दै आरोपरप्रत्यारोप हुन थालेपछि केन्द्रीय कार्यालय बैठकले अन्तर्घात छानबिन समिति गठन गरेको थियो। अनुशासन आयोगका संयोजक अमिक शेरचनको नेतृत्वमा गठित समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन्। समितिमा करिब २ दर्जन उजुरी परेको एक सदस्यले जानकारी दिए।

तोकेको समयावधिमा परेका उजुरी संकलन भइरहेकाले उजुरीको संख्या अझै बढ्न सक्ने समिति संयोजक शेरचनले जानकारी दिए। ‘कलेक्सनकै चरणमा छौं, ठ्याक्कै यति नै संख्या भनेर भन्न सकिँदैन तर समितिले उजुरी दिन सकिने तोकेको अवधिमा सम्बन्धित जिल्लाको सिफारिसका आधारमा अझै पनि प्रदेश कार्यालय हुँदै उजुरी आउने क्रम जारी छ’, शेरचनले भने।

एमाले उम्मेदवारले समेत दर्ता गराए माओवादी कार्यालयमा उजुरी

समितिले २८ पुससम्म अन्तर्घातको छानबिन गर्न सम्बन्धित जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिन समयावधि तोकेको थियो। माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय नेताहरूकै निर्देशनमा जिल्ला नेताहरूले अन्तर्घात गरेको उजुरी परेको छ। उनी गोरखा २ बाट प्रतिनिधिसभामा नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।

महिला नेतृ उर्मिला अर्याल पर्सा ४ मा पराजित भएकी थिइन्। उनलाई नेता जालिम मियाँलगायतले असहयोग गरेर पराजित गराएको उजुरी परेको छ। उनलाई हराउन रौतहटका माओवादी नेतासमेत प्रयोग गरिएको उजुरीमा उल्लेख छ। समितिले उजुरी नखोलेकाले उजुरी परेका नेताहरूबारे बताउन सक्ने अवस्थामा समिति सदस्य छैनन्। ‘यो उम्मेदवारलाई हराउन यी नेता कार्यकर्ताले भूमिका खेले भन्ने अहिल्यै बताउन सकिन्न तर अन्तर्घातका कारण हारेका उजुरीहरू छन्’, समितिका सदस्य नेता लीलामणि पोखरेलले भने, ‘उजुरी कलेक्सन भइरहेको छ, सकिएलगत्तै छानबिन प्रक्रिया अघि बढेपछि मात्र भन्न सकिएला।’

अन्तरपार्टी छानबिन अन्योलमा
अन्तरपार्टी अन्तरघातको उजुरी समेत परेपछि छानबिन गर्नेरनगर्ने समिति अन्योलमा छ। रौतहट २ का एमाले उम्मेदवारले माओवादी नेताको अन्तर्घातले हारेको उजुरी दिएपछि छानबिन गर्नेरनगर्नेमा समिति अन्योलमा परेको हो।

समितिले बनाएको कार्य्धिि आन्तरिक छानबिनका लागि मात्र भएकाले उजुरी परेको भए छानबिन नहुने सदस्य पोखरेलले बताए। ‘आन्तरिक अन्तर्घात छानबिनका लागि समिति गठन भएको हो’, उनले भने, ‘तर अन्तरपार्टी अन्तर्घात समितिले छानबिन गर्दैन। त्यस्तो उजुरी आएको भए दुई पार्टीका शीर्ष नेताको मूल्यांकनका आधारमा हुन्छ।’ संयोजक शेरचनले भने संकलन भइरहेकाले उजुरी आएको भए के कसरी टुंगो लगाउने समितिभित्र छलफल गरेर ठोस योजना बनाइने बताए। ‘त्यस्तो उजुरी आए नआएको भन्न सक्दैनौं तर आएको रहेछ भने छलफल गरेर निर्णय लिन्छौं,’ उनले भने।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments