Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गंगा बराल,काठमाडौं । बाम गठबन्धनले राष्ट्रियसभामा उम्मेदवारी दिने विषयमा आपसी सहमतिमा भागवण्डा मिलाएको छ ।
बुधबार एमालेको संसदीय दल सिंहदरबारमा बसेको बैठकले जित्ने सम्भावना भएका ठाउँमा मात्र उम्मेदवार उठाउने निर्णय गरेको छ । ५६ मध्ये सहमतिमा एमालेले २९ र माओवादी केन्द्रले १४ जनालाई राष्ट्रियसभामा उम्मेदवार बनाउने छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशतमा उम्मेदवारी दिएको थियो । राष्ट्रियसभामा भने एमालेले दोब्बरभन्दा पनि एक सिट बढी पाएको छ । स्थानीय निर्वाचन र प्रदेशसभामा प्राप्त मत परिणामलाई आधार मानेर सिट बाँडफाँट गरिएको कार्यदलले जनाएको छ । कार्यदलका सदस्य एमाले नेता सुरेन्द्रप्रसाद पाण्डेले नजित्ने ठाउँमा उम्मेदवारी नदिने बताए । ‘जहाँ जितिँदैन भन्ने निश्चित छ त्यहाँ उम्मेदवारी दिँदैनौ ’ पाण्डेले भने ‘ एकल संक्रमणीय मतदान भएपछि बाम गठबन्धनले यस्तो निर्णय गरेको हो ।’ पाण्डेले यो निर्णय एकता संयोजन समितिमा बुझाउने र त्यसपछि पार्टीले आ–आफ्नो ढंगले छलफल गरी उम्मेदवार तय गर्ने बताए ।

तीनपटकसम्म बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो । सिंहदरवारमा नै कार्यदलको बैठक शुक्रबार, आइतबार र बुधबार बसेको थियो । राष्ट्रियसभामा ५६ जना प्रतक्ष्य निर्वाचित भएर आउने छन् । सरकारको सिफारिसमा कम्तिमा एक महिलासहित राष्ट्रपतिले तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट कम्तिमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ८ जना निर्वाचित हुने प्रावधान छ । राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुने छ । राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुने छ । गोला प्रथाद्धारा पदावधि कायम गरिने छ ।

बाम गठबन्धनको एक साताअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले एमाले र माओवादी केन्द्रका तीन÷तीनजना सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलललाई प्रदेशसभा, प्रदेश सरकार र राष्ट्रियसभाको निर्वाचनका बारेमा छलफल गर्न जिम्मेवारी दिइएको थियो । कार्यदलमा एमालेबाट नेम्वाङ, पाण्डेसहित शंकर पोखरेल र माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र मातृकाप्रसाद यादव रहेका छन् ।

प्रदेश नम्बर १ मा एकल बहुमत रहेको एमालेले माओवादीलाई महिलातर्फ एक सिटमात्र दिएको छ । बाँकी ६ सिटमा एमालेका मात्रै उम्मेदवार हुनेछन् । ८ मध्ये १ सिट भने कांग्रेसले एकल संक्रमणीय मतका आधारमा जित्ने बाम गठबन्धनको बुझाई छ ।
प्रदेश नम्बर २ मा एमालेले खुला सदस्य र माओवादीले महिला सदस्यमा उम्मेदवारी दिनेछन् । ३ नम्बर प्रदेशमा एकल बहुमत रहेको एमालेले माओवादीलाई खुला ३ सदस्य उम्मेदवार बनाएको छ । अरु ५ सिटमा एमालेका उम्मेदवार हुनेछन् । एक महिला र एक खुलामा कांग्रेसले जित्ने भएकाले भागबण्डा गरिएको छैन । प्रदेश नम्बर ४ मा एमालेले ४ र माओवादीले २ सिट बाँडेका छन् । एमालेले अपांग तथा अल्पसंख्यक सहित दुई खुला र १ महिला सिटमा उम्मेदवारी दिनेछ भने माओवादीले एक दलितसहित एक महिला सदस्यमा उम्मेदवारी दिनेछ ।

प्रदेश नम्बर ५ मा एमालेले अपांग तथा अल्पसंख्यक एकसहित ४ सिट पाएको छ भने माओवादीले दुई सिट पाएको छ । एमालेले २ खुला र २ महिलामा उम्मेदवारी दिनेछ । माओवादीले एक दलित र एक महिला सदस्यमा उम्मेदवारी दिनेछ । प्रदेश नम्बर ६ मा एमाले र माओवादीले आठै सिटमा उम्मेदवारी दिनेछन् । तीमध्ये ५ एमाले र ३ माओवादीले बाँडेका छन् । प्रदेश नम्बर ७ मा एमालेले ४ र माओवादीले २ सिट बाँडेका छन् । माओवादीले एक खुला र एक आरक्षण सिटमा उम्मेदवारी दिनेछ ।

संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीमा वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कलासाहित्य, विज्ञान, प्रविधि लगायतका सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका, स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समावेशी सूचीमा नाम समावेश नभएकालाई प्रदेशसभाको उम्मेदवार बनाउन सक्ने एमालेले जनाएको छ । पार्टीले उम्मेदवार सिफारिस गर्दा भौगोलिक र सामाजिक सन्तुलन पनि मिलाउन आग्रह गरेको छ ।
निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ । प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभामा मतदान गर्न पाउने छन् ।

तपाईको प्रतिक्रिया