Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

नयाँदिल्ली, १४ चैत्र । भारतमा आगामी अप्रिल महिनामा हुन लागेको निर्वाचन ‘चौकिदार’ को अघिपछि घुमिरहेको छ । यही सिलसिलामा कतिपय नेताले नेपाल तर्फपनि औंला उठाइरहेका छन् भने केहीले पाकिस्तानतर्फ औंला ठड्याएको पाइएको छ । नेपालका सन्दर्भमा चौकिदार शब्दलाई लिएर अवाञ्छित आरोप लगाउने क्रम पछिल्ला दिनमा बढ्दै गएको छ । १७ औं लोकसभाका लागि भारतमा आउँदो अप्रिल ११ तारेखदेखि शुरु भएर मे १९ तारेख सम्म विभिन्न सात चरणमा निर्वाचन हुनेछ । २३ तारेखमा नतिजा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

यो निर्वाचनमा आ–आफ्नो बर्चश्व कायम गर्न सत्तारुढ भारतीय जनता पार्टी र कंग्रेस आइबीच आरोप प्रत्यारोप तीव्र ढंगले बढिरहेको छ । यो आरोप प्रत्यारोपमा दुवै पक्षले कहिले पाकिस्तान त कहिले नेपाल जोड्दै एक अर्कालाई गाली गलौज गरिरहेका छन् ।
कंग्रेसले सत्तारुढ भाजपालाई चौकिदार शब्दको प्रयोग गरेका कारण नेपालमा चुनाव लड्न जान आग्रह गरेको समेत पाइएको छ । चौकिदार शब्द प्रधानमन्त्री मोदीले सुरुमा प्रयोग गरेका हुन् । देश र जनताको पक्षमा चौकिदारी गर्ने हिसाबले उनले सन् २०१४ को चुनावमा यो शब्द प्रयोगमा ल्याएका थिए ।

पछि राफेल विमान खरिद प्रकरणको विषय सार्वजनिक भएपछि कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले ‘चौकिदार चोर’ भएको बताएका थिए । मोदीले हरेक स्थानमा चुनावी भाषणका क्रममा आफू चौकिदार भएको बताएकोमा अहिले भाजपाका सबैजसो नेताले आफ्नो ट्विटर एकाउन्टमा नामको अगाडि ‘चौकिदार’ शब्द राखेका छन् ।

भाजपाका नेताहरुले कंग्रेसलाई पाकिस्तानसँग जोडेर सो पार्टीका नेताको गतिविधि पाकिस्तानले मन पराउने खालको भएको बताएका छन् । कांग्रेस आईका नेताले भने भाजपाका नेतालाई ‘चौकिदार’ शब्दको प्रयोग गरेका कारण नेपालमा गएर चुनाव लड्न समेत आग्रह गरेका छन् ।

‘चौकिदार’ शब्द नेपालीका हकमा मात्रै लागु हुने नगरेपनि जबर्जस्त रुपमा ‘चौकिदार’ भन्नासाथै नेपालीतर्फ संकेत गर्ने गरेका छन् ।

केही अघि महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का प्रमुख राज ठाकरेले पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत भारतीय जनता पार्टीका नेताले ‘में भी चौकिदार’ भन्ने अभियान ट्विटरमा चलाएकोमा आलोचना गर्दै भारतीय लोकसभाको निर्वाचन नेपालमा होइन भारतमा हुन लागेको भनेर आलोचना गरेका थिए ।

इन्डिया टुडेको अनलाइन संस्करणले प्रकाशित गरेको समाचारमा ठाकरेले नेपालको नाम त्यसरी जोड्नुमा नेपालबाट आएका व्यक्तिहरु भारतमा ‘चौकिदार’को रुपमा रहेको भन्ने हिसाबले अपमान गर्न खोजेको जस्तो देखिएपनि सोझै भने खुलाएका थिएनन् । यसअघि आम आदमी पार्टीकी एक जना महिला साँसदले पनि यसैगरी चौकिदारको नाम लिएर नेपालीको अपमान गर्न खोजेकोमा आलोचना भएपछि उनले क्षमायाचना गरेकी थिइन् ।

पछिल्लो पटक चौकिदारको प्रसंग निकाल्ने राज ठाकरे कट्टर हिन्दुवादी बाल ठाकरेका भतिजा हुन् । उनले मुम्बईमा एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले चलाएको अभियान नाटकीय रहेको जनाएका थिए । ‘‘यो चौकिदारको कुरा के हो ? चुनाव भारतमा हुन लागिरहेको हो कि नेपालमा ? प्रधानमन्त्रीको निर्णय गर्ने प्रक्रिया त्यो भन्दा माथि हुनुपर्दछ,” उनको भनाइ थियो ।

ठाकरेले ‘चौकिदार’को प्रसंग निकाल्नुअघि पाकिस्तान सन् २०२५ सम्ममा भारतमा गाभिने विवादास्पद अभिव्यक्ति समेत उनैले दिएका थिए । गएको सोमबार पनि ‘चौकिदार’ प्रसंगमा नेपाल जोडिने क्रम जारी रह्यो । भारतको नेशनलिस्ट कंग्रेस पार्टी (एनसीपी) का माथिल्लो सदन राज्यसभाका सदस्य माजिद मेमोनले सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) लाई नेपालमा गएर चुनाव लडेमा जित्ने बताएका थिए । उनले ‘चौकिदार’लाई हिमाली देश नेपालमा मत मिल्ने बताएको इन्डियन एक्सप्रेसको मंगलबारको अनलाइन संस्करणमा जनाइएको थियो ।

भाजपाका नेताहरुले कांग्रेस पाकिस्तानमा गएर चुनाव लडेमा जित्ने भन्दै व्यङ्ग गरेको भोलिपल्ट मेमोनले सो टिप्पणी गरेका हुन् । ‘‘यदि राम माधवले कंग्रेसले पाकिस्तानमा गएर चुनाव लडेमा जित्छ भन्छन् भने म पनि उनलाई एउटा सल्लाह दिन चाहन्छु । सबै भाजपाका नेता चौकिदार भएकाले उनीहरु सबै नेपालमा गएर चुनाव लड्दा हुन्छ । उनीहरुले त्यहाँ जित्नेछन्,” प्रमुख विपक्षी कंग्रेस आइसँग महाराष्ट्रमा एलायन्स गरेको एनसीपीका नेता मेमोनले एएनआइसँगको कुराकानीमा सो कुरा बताएको समाचारमा जनाइएको छ ।
गएको आइतबार भाजपाका राष्ट्रिय महासचिव राम माधवले गुवाहटीमा सञ्चारकर्मीसँगको कुराकानीमा कंग्रेसका नेताहरुले पाकिस्तानमा गएर चुनाव लडेमा जित्ने बताएका थिए । उनले विपक्षीले गर्ने ट्विटलाई भारतमा भन्दा पनि पाकिस्तानमा बढी रिट्वीट गर्ने गरिएको जनाएका थिए ।

उनले विपक्षी कंग्रेसले हिन्दुस्तानको लागि काम गरिरहेको हो कि पाकिस्तानको लागि भन्ने नछुटिटएको समेत सो अवसरमा आरोप लगाएका थिए ।

साँच्चैका ‘चौकिदार’ आक्रोशित

एकातिर नेपाल र नेपालीप्रति छेडखानी गर्ने क्रम एकातिर छ भने अर्कातिर कंग्रेस आईका अध्यक्ष राहुल गान्धीको भनाईलाई लिएर स्वयं भारतकै साँच्चैका ‘चौकिदार’ पनि आक्रोशित छन् । सेक्युरिटी गार्ड एशोसिएसन अफ महाराष्ट्रले राहुल गान्धीको विरुद्धमा दुई साता अघि मुद्दा दर्ता गर्न प्रहरीलाई आग्रह गरेको थियो ।

महाराष्ट्र राज्य सुरक्षा रक्षक युनियनले दिएको निवेदनमा प्रहरीका स्थानीय अधिकारीले पनि ‘चौकिदार चोर हुन्’ भन्ने राहुलको भनाइले सुरक्षा गार्डको अपमान गरेको बताएका थिए ।

सो संगठनको युनियनका अध्यक्ष सन्दीप घुँगेले सुरक्षा गार्डलाई अपमान हुने खालको यस्तो शब्द प्रयोग नगर्न आग्रह गरेका थिए । राहुल गान्धीले यो शब्द बारम्बार सामाजिक सञ्जालमा पनि दोहोर्याइरहेका छन् । राहुलले मात्रै होइन आम आदमी पार्टीका सांसद अल्का लम्बाले समेत सो शब्द प्रयोग गर्दै नेपाली नागरिक विरुद्ध जातीवादी अवधारणा सार्वजनिक गरेकी थिइन् । त्यसको सर्वत्र आलोचना भएपछि उनले आफ्नो भनाइमा क्षमायाचना गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया