Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १४ चैत्र । सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशूली–बी जलविद्युत् आयोजनाको सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार बाँडफाँड गरिएको सो जलविद्युत् आयोजनाको सेयर प्रधानमन्त्री ओलीलाई २० कित्ता परेको हो ।

एक हप्ताअघि प्रधानमन्त्री ओलीले सो जलविद्युत् आयोजनाका लागि १० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए । त्यसैगरी प्रधानमन्त्री पत्नी राधिकालाई पनि २० कित्ता, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पनि २० कित्ता, पूर्व सभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता सेयर परेको छ । प्रधानमन्त्रीसहित आफूहरुलाई पनि सर्वसाधारणले पाएजत्ति नै २० कित्ता सेयर भागमा परेको मन्त्री पुनले जानकारी दिए ।

गत चैत्र ७ गते बिहीबार आवेदन खुला गरिएको सो आयोजनामा ३५ लाख ९३ हजार ८ सय ५० कित्ताको लागि १ लाख ५४ हजार ५ सय ५९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका ३० लाख ९१ हजार १ सय ८० कित्ता बाँडफाँड गर्दा प्रधानमन्त्रीसहित सबैलाई २० कित्ता भागमा परेको सो आयोजनाको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले जानकारी दिए ।

‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने मूल नाराका साथ घोषणा गरिएको जनताको जलविद्युत् कार्यक्रमबाट जलविद्युत्मा करिब ७ खर्ब रुपैयाँ स्वदेशी लगानी जुटाउने सरकारको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया