Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १४ चैत्र । कलाकारहरुले मागे जस्तो र सञ्चारमाध्यममा आए जस्तो चर्को पारिश्रमिक दिने अवस्थामा नेपाली चलचित्र उद्योग नपुगेको निर्माताहरु बताउँछन् । एउटै कलाकारलाई ५० लाख र ३० लाख दिएर चलचित्र बनाउने बजार विकास र विस्तार नभएको निर्माताहरुको भनाइ छ । अहिले बजारमा रुचाइएका कलाकारहरुले एउटै चलचित्रबाट ५० लाखसम्म पारिश्रमिक लिएका खबरहरु आइरहेका छन् ।

एउटै कलाकारलाई मोटो पारिश्रमिक दिनाले पनि निर्माताहरु ठूलो घाटा बेहोर्न बाध्य भइरहेको उनीहरुको गुनासो छ । चलचित्र निर्माता तथा कलाकार निर्मल शर्मा बजारमा आएजस्तो मोटो पारिश्रमिक कलाकारले नपाएको भए पनि बजारले धान्नेभन्दा धेरै भने लिने गरेको बताउँछन् ।

“मैले १४ वटा सिनेमा बनाएँ । ७० वटा विज्ञापन खेलेँ, ८० वटा विज्ञापन बनाएको मान्छे भर्खरै एउटा चलचित्रमा डेढ लाखमा साइन गरेको छु । म यसमा सन्तुष्ट छु,” शर्मा बाह्रखरीसँग भन्छन्, “वडा नम्बर छ, छ एकान ६ मा कलाकारलाई साइन गराउने मान्छे मै हुँ । कसको पारिश्रमिक कति हो मलाई थाहा छ । बजारमा आएको सत्य होइन तर बजारभन्दा महंगो भने केहीले लिइरहेका छन् ।”

२५ लाख र ३० लाख पारिश्रमिकमा सौदावाजी गर्नेले नै नेपाली चलचित्रलाई ‘डुबाएको’ उनको भनाइ छ । “कुनै कलाकारले ३० लाख पारिश्रमिक लिन्छ भने उसले अभिनय गरेको चलचित्रले ९० लाखको व्यापार गर्‍यो भने उसको पारिश्रमिक उठ्छ । उसको चलचित्र हेर्न कै लागि त्यही कलाकार भनेर दर्शक आउँछन् ?” शर्मा प्रश्न गर्छन्, “आफूले अभिनय गरेको चलचित्र घाटामा जाँदा आमिर खान र शाहरुख खानले पैसा फिर्ता गरेको उदाहरण छ । नेपालमा ३० लाख पारिश्रमिक लिने कलाकारले आफूले अभिनय गरेको चलचित्र घाटामा जाँदा कसले प्रोड्युसरलाई पैसा फिर्ता ग¥यो ? नेपालमा प्रोड्युसर डुबेको डुब्यै, अरुलाई दसैं ?”

कलाकारको पारिश्रमिक ३० लाख रुपैयाँ हुने तर देशभरबाट ३० लाख रुपैयाँ ग्रस कलेक्सन नहुने अवस्थामा चर्को पारिश्रमिकको पक्षमा आफू नरहेको शर्मा बताउँछन् ।

निर्माता, निर्देशक तथा कलाकार अर्पण थापा कलाकारले ५० लाख रुपैयाँ पारिश्रमिक लिने बजार नेपालमा बनिनसकेको बताउँछन् । आफू पनि निर्माता रहेको बताउँदै थापा भन्छन्, “म पनि फिल्म मेकर नै हो । मैले दिएको ५० लाख बराबरको हाराहारीमा उसले अडियन्स ल्याउन सक्छ भने त्यो भ्यालुएवल हुन्छ । हैन भने कामको मूल्यांकन गरेर पारिश्रमिक निर्धारण गर्नुपर्छ ।”

स्टारडमका आधारमा कसैले पारिश्रमिक लिन सक्ने तर नेपाली बजार अहिले एउटा नायकलाई मात्रै ५० लाख दिने अवस्थामा पुगिनसकेको उनी बताउँछन् । बलिउड सुपर स्टार अमिर खान, शाहरुख खान लगायतका कलाकार अभिनित चलचित्रमा सामान्यतः कति अडियन्स उनीहरुलाई नै हेर्न मात्रै भएपनि हलसम्म आउँछन् भन्ने पूर्वानुमान गरेर निर्माताहरुले उनीहरुलाई अनुबन्ध गरेका हुन्छन् ।

अन्तर्राष्ट्रिय बजारलाई ‘क्यास’ गर्न सके ५० लाख पारिश्रमिक दिन कुनै फरक नपर्ने तर नेपाली बजारमा मात्रै चलचित्र सीमित हुने अवास्थामा उचित नरहेको अर्का चलचित्र निर्माता तथा वितरक नरेन्द्र महर्जन बताउँछन् । “निर्माताले चलचित्र बनाउनु अगाडि बजार पनि हेर्नुपर्छ,” महर्जन भन्छन्, “मसँग ५ करोडको गाडी किन्ने पैसा होला तर त्यो गाडी चलाउने सडक छ कि छैन सुरुमा बुझ्नुपर्छ । अन्यथा त्यो गाडी किनेर पनि काम हुँदैन ।”

बजार विस्तार नै अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ । बलिउड हलिउडमा एउटै चलचित्रमा ५–६ जनाको लगानी हुने गरेको प्रसंग कोट्याउँदै महर्जन भन्छन्, “बलिउडमा कलाकार समेत नाफा सेयरमा बस्छन् । प्रफिट सेयरमा बस्दा कलाकारले चलचित्रलाई राम्रो बनाउन पूरै समय दिन्छ र चलचित्र राम्रो हुन्छ । त्यसो संस्कार हाम्रोमा पनि सुरु गर्नुपर्छ ।”

समयसँगै कलाकारको पारिश्रमिक पनि बढाउँदै लैजानुपर्ने तर कलाकारले पनि पारिश्रमिक लिएर काम गरिसकेपछि चलचित्र रिलिज हुँदासम्म समय दिनुपर्नेमा उनको जोड छ ।

“बलिउडमा सिनेमा घोषणादेखि रिलिज नहुँदासम्म कलाकार प्रोमोसनमा हिँड्छन् । हरेक रियालिटी शोमा उनीहरु पुग्छन्, आफ्नो चलचित्रबारे बोल्छन् । तर हाम्रोमा प्रोमोशनमा हिँड्ने बेलामा नायक नायिका भेटिँदैनन् । उनीहरु अर्कैै चलचित्रको सुटिङमा हिँडिसक्छन्,” महर्जन भन्छन् ।

निरन्तर चलचित्र घाटामा गइरहेपनि केही नायकहरुले भने मोटो पारिश्रमिक लिने गरेको तर चलचित्रको प्रोमोशनमा समेत खासै समय नदिने गरेको भन्ने आलोचना हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया