Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

राजविराज, १४ चैत्र । सप्तरीको परीक्षा केन्द्रमा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको छ। जारी एसईई परीक्षाअन्तर्गत बिहीबारको अनिवार्य विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगाडि बाहिरिएको सिडिओ सुरेन्द्र पौडेलले स्वीकार गरेका छन्।

लाखौं रकमको चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको चर्चा चलिरहेकोमा बिहीबार परीक्षार्थीबाटै खोसिएको चिटले सो तथ्य पुष्टि भएको हो। प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार परीक्षार्थीबाट खोसिएको चिटको प्रतिलिपि हुबहु मेल खाएको फेला परेको सशस्त्रका एसपी खेम थापाले बताए।

यस क्रममा एसएलपी मावि पत्थरगाढामा परीक्षा दिइरहेका सातजना परीक्षार्थी हुबहु उत्तर भएको चिटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सो विद्यालयमा ज्ञानज्योति सेकेन्डरी इङ्लिस बोर्डिङ्ग अर्नाहा, जनता मावि कुशहा अर्नाहा, जानकी मोडेल मावि कल्याणपुर, जनता मावि ब्रह्मपुर, जनता मावि बेल्ही चपेना र जनता मावि नर्घोका दुई सय ७५ जना परीक्षार्थी सामेल छन्।

हुबहु चिटको फ्ल्यापसहित पक्राउ परेका अन्जुकुमारी मण्डल, राधिका चौधरी, शिवेनकुमार पासवान, विवेक तामाङ्ग, चाँदनीकुमारी मण्डल, सन्जनकुमारी साह र शिवकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको छ।

उनीहरुको आजको परीक्षा रद्द गरिएको छ।पक्राउ परेका परीक्षार्थीमध्ये कसैले राति त कसैले बिहान पाँच बजे नै अभिभावकले प्रश्नपत्रसँग मेल खाने उत्तरसहितको प्रतिलिपी उपलब्ध गराएको बताएका छन्।

अनुगमनमा गएको टोलीले चेकजाँच अगावै चिट, गेसपेपर निकाल्न निर्देशन दिएपछि जम्मा भएको दुई बोरा चिटमा पनि प्रश्नपत्रसँग मेल खाएको समूह र नम्बरसहित उल्लेख भएका प्रतिलिपी रहेको एसपी राजेन्द्र विष्टले बताए।

एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक सञ्जालमार्फत एक-अर्कालाई आदान प्रदान गरेको तथ्य पनि फेला परेको छ। बुधबार राति नै परीक्षार्थीका अभिभावकको हात-हातमा प्रश्नपत्र र उत्तरसहितको फ्ल्याप प्रतिलिपी पुगेको र सामाजिक सञ्जालमार्फत सेयर गरेको पाइएको छ।

बुधबार मात्र मोबाइलबाट उत्तर लेख्न पाउने सुविधा दिएको पाइए पछि २५ थान मोबाइल सिज गरी कमलेश्वरी किशुन झौलाई मावि बनरझुला केन्द्रका एक केन्द्राध्यक्ष, एक सह केन्द्राध्यक्ष र पाँच जना निरीक्षकलाई निष्काशन गरी शिक्षा ऐनअनुसार कारवाही सुरु भएको छ।

परीक्षा अगावै प्रश्न पत्र बाहिर ल्याउने कार्यमा शिक्षा क्षेत्रका माफिया र परीक्षा केन्द्रमा संलग्न केन्द्राध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षकको मिलोमतो रहेको बताइएको छ।

ठूला विद्यालयको आर्थिक चलखेलमा प्रश्नपत्र बाहिरिएको कुरा एसएलपी मावि पत्थरगाढाका केन्द्राध्यक्ष देबुप्रसाद यादवले जनाए। एसईई परीक्षामा सामेल निजी विद्यालयका सञ्चालकले इन्टरनेट, इमेल, ह्वाट्स एप र इमोमार्फत प्रश्नपत्र आदान-प्रदान गरेको उनको भनाई छ।

सम्बन्धित पक्षको लापरवाहीका कारण परीक्षा अगावै प्रश्नपत्र बाहिरिएकाले यसबारे माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समिति सप्तरीको बैठक अहिले प्रजिअको निवासमा बसिरहेको छ। अन्नपूर्णपोस्टबाट साभार

तपाईको प्रतिक्रिया