Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १४ चैत्र । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्याराको पहिचान अझै हुन सकेको छैन । गत साउन ११ गते उखुबारीमा मृत भेटिएकी निर्मलाको भेजिनल स्वाबसँग कसैको पनि डीएनए नमिल्दा हत्याराको पहिचान हुन नसकेको हो ।

बलात्कारका घटनामा डीएनए परीक्षण गरिएको निर्मला हत्याकाण्ड नै पहिलो घटना भएको प्रहरी अधिकारी बताउँछन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र कञ्चनपुर प्रहरीको टोलीले अनुसन्धान गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर विष्ट सुक्ष्म रुपमा प्रहरी अनुसन्धानमा जुटेको बताउँछन् । ‘‘ढिलोचाँडो अपराधी कानुनको दायरामा आउँछ, हामीले अनुसन्धानमा सबै प्रकारका पद्धति र विधि अपनाएका छौं,’’ डिएसपी विष्टले भने ।

डीएनएमै अल्झियो अनुसन्धान
प्रहरीले अनुसन्धानका क्रममा एक सयजनाभन्दा बढीको रगत डीएनए परीक्षणका लागि संकलन गरेको छ । सयौंसँग बयान र सोधपुछ पनि गरेको छ । तर हत्याराको पहिचान हुन सकेको छैन । अनुसन्धानका क्रममा दिलिपसिंह विष्ट लगायत केहीले हत्या आफूले गरेको साविति बयान दिएपनि उनीहरुको डीएनए म्याच भएन ।

यसअघि बलात्कारका घटनामा अभियुक्तले दिएको बयानलाई नै अनुसन्धानको आधार र प्रमाण मानिँदै आएको थियो । तर निर्मला प्रकरणका डीएनए नै विकास भएकाले डीएनए म्याच नै गर्नुपर्ने अवस्था छ । अनुसन्धानमा रहेका एक प्रहरी अधिकारी भन्छन्, ‘‘डीएनएमै अनुसन्धान अल्झिएको छ । तर डीएनए हालसम्म कसैको मिलेको छैन ।’’

यसअघि निर्मला हत्यामा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोबाट घटनाको अनुसन्धान गर्न कञ्चनपुर पुगेका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जीसी नेतृत्वको टोलीले भदौ ३ गते स्थानीय दिलिप सिंह विष्टलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले दिलिपलाई नै मुख्य अभियुक्त बनाएर सार्वजनिक समेत गरेको थियो । तर दिलिपको डीएनए निर्मलाको स्वाबसँग म्याच हुन सकेन ।

प्रहरीसँगको साविती बयानमा विष्टले बलात्कारपछि देब्रे हातले घाँटी थिचेर निर्मलाको हत्या गरेको बयान दिएका थिए । दिलिप पक्राउ परेपछि स्थानीयले विष्टलाई प्रहरीले फसाएको आरोप लगाउँदै आन्दोलन चर्काए । तर सरकारले नै गठन गरेको छानबिन समितिले प्रहरीले दिलिपलाई नक्कली अभियुक्त बनाएको प्रतिवेदन गृहलाई बुझाएपछि तत्कालीन कञ्चनपुर एसपी दिल्लीराज विष्टसहित अनु्सन्धानमा संलग्न सबै प्रहरीमाथि कारवाही भएको थियो ।

उनीहरुमध्ये एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट भने बर्खास्त नै भए । कारवाहीमा परेका प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा र दिलिपका दाजुले प्रमाण नष्ट र यातना दिएको आरोपमा मुद्दा दायर गरेका थिए । सबै प्रहरी धरौटीमा अदालतबाट छुटिसकेका छन् । तर प्रहरी अधिकारीमािथ कारवाही हुँदा पनि अनुसन्धानको नतिजा भने आउन सकेको छैन ।

हरी टोलीले स्थानीयको लगत संकलनदेखि लिएर हजारौं हल डिटेल हेर्ने, आपराधिक समूहलाई नियन्त्रणमा लिने लगायतका काम गरिसक्दा पनि हत्यारा को हो भन्ने संकेतसम्म प्रहरीले पाउन सकेको छैन ।

पछिल्लो समय निर्मलाकी आमाले नै छोरीलाई बलात्कारपछि हत्या गर्ने पुरुष दिलिपसिंह विष्ट नै भएको बताएपछि प्रकरणले नयाँ मोड लिएको छ ।

डीएनए परीक्षणमाथि शंका
निर्मला हत्या प्रकरणमा कारवाहीमा परेका प्रहरी अधिकारीले डीएनए परीक्षण र संकलन प्रक्रियाबारे प्रश्न उठाउँदै आएका छन् । महाकाली अञ्चल अस्पतालका डाक्टरले भेजिनल स्वाबको तीनवटा स्याम्पल संकलन गरेका थिए । त्यही स्याम्पल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइयो । प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा दुईवटा स्याम्पलबाट डीएनए जेनेरेट भइसकेको थियो भने बाँकी रहेको अन्तिम स्याम्पल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको थिएन

विधि विज्ञान प्रयोगशालाका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) राकेश सिंहको टोलीले भेजिनल स्वाबबाट डीएनए जेनेरेट गरेका थिए । राष्ट्रिय मानव अधिकार आयोगले भने भेजिनल स्वाब संकलन गर्ने प्रक्रियामाथि छानबिन गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्री कार्यालयमा सिफारिससहित २०७३ माघ १३ गते उक्त रिपोर्ट बुझाइएको थियो ।

तपाईको प्रतिक्रिया