Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

वीरगन्ज, १३ चैत्र । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेको भुलवाही खोलामा गिट्टी बालुवा उत्खननका लागि लगाइएको ठेक्‍काको विषयलाई लिएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद चुलिएको छ।

गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले ठेकेदारसँग रकम लेनदेन गरी प्रक्रिया मिचेर भलुवाइ खोलाको ठेक्‍का लगाएको उपाध्यक्ष ममता महत्तो थारुको आरोप छ। अध्यक्ष चौधरीले भने आफन्त पर्ने ठेकेदारले ठेक्‍का नपाएको झोकमा उपाध्यक्ष महत्तोले खोलाको ठेक्‍काका बारेमा भ्रम छर्दै हिँडेको आरोप लगाएका छन्।

बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरी गाउँपालिकाकी उपाध्यक्ष महत्तोसहितका बहुसंख्यक कार्यपालिका सदस्यले विधि प्रक्रिया मिचेर गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशाकीय अधिकृतले खोलाको ठेक्‍का लगाएको आरोप लगाएका छन्।

गाउँपालिकाकी उपाध्यक्ष थारुसहितका सातजना कार्यपालिका सदस्यले बोर्ड बैठकबाट निर्णय नै नगराइ गाउँपालिका अध्यक्ष चौधरी र प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीले खोलाको ठेक्‍का लगाएको आरोप लगाएका हुन्।

अध्यक्ष र प्रमुख प्रशासकीयले ७० लाख रुपैयाँको लेनदेन गरी नियम प्रक्रिया मिचेर खोलाको ठेक्‍का लगाएको आरोप उनीहरुको छ। पटेर्वा सुगौली गाउँपालिकाले चालु आर्थिक वर्षको साउनमा भलुवाही खोलाको ठेक्‍का दुई करोड ७२ लाख ५१ हजार ९ सय ९९ सय रुपैयाँमा लगाएको थियो।

उक्त ठेक्का निमिया माइ निर्माण कम्पनीले लिएको थियो। निमिया माइ निर्माण कम्पनी अशोक साहको नाममा दर्ता रहेपनि त्यसमा लगानी भने गाउँपालिकाकी उपाध्यक्ष नागेन्द्र महत्तो थारुको रहेको छ।

तर साउनमा पटेर्वा सुगौली गाउँपालिकाले ठेक्‍का लगाएलगत्तै छिमेकको जीराभवानी गाउँपालिकाले भलुवाही खोला आफ्नो क्षेत्रमा पनि पर्ने भन्दै पटेर्वासुगौली गाउँपालिकाले लगाएको ठेक्‍का खारेजीको माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा मुद्धा हालेको थियो।

अदालतमा मुद्धा परेपछि गत माघ तेश्रो साता प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा बसेको सरोकारवालाको बैठकमा भलुवाही खोलाको नयाँ ठेक्‍का १ करोड ८५ लाख रुपैयाँमा लगाउने र उक्त रकम दुवै गाउँपालिकाले आधा आधा लिने सहमति भएको थियो।

सहमति पछि जीराभवानी गाउँपालिकाले अदालतबाट मुद्धा फिर्ता लिएको थियो। त्यसपछि अध्यक्ष चौधरी र प्रमुख प्रशासकीय अधिकृतले रकमको लेनदेन गरी १ करोड ९लाख रुपैयाँमा मात्र नवगावा माइ निर्माण कम्पनीलाइ ठेक्का लगाएको उपाध्यक्ष महत्तोले बताइन्।

बोर्ड बैठकको निर्णयअनुसार लगाइएको ठेक्का खारेज गर्नुपर्ने आफूहरुको माग रहेको उपाध्यक्ष महत्तोले पत्रकार सम्मेलनमा बताइन्। पेटर्वासुगौली गाउँपालिकाको कार्यपालिका कुल १३ सदस्य छन्। ती मध्ये बुधबारको पत्रकार सम्मेलनमा उपाध्यक्ष महत्तोसँगै कार्यपालिका सदस्य माधवप्रसाद राउत थारु, मानमती देवी थरुनी, प्रेमशीला देवी चमइन, कलही देवी मुसहरीन, नयना देवी थरुनी र विपिन मुखीया बिन गरी सातजनाको सहभागीता रहेको थियो।

गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले भने विधि र प्रक्रिया पूरा गरेर नै १ करोड ९ लाख रुपैयाँमा नयाँ ठेक्का लगाइएको दाबी गरेका छन्। जीराभवानी गाउँपालिकाले अदालतमा मुद्धा हालेपछि प्रमुख जिल्ला अधिकारीको उपस्थिति बसेको बैठकमा ठेक्काको रकम दुवै गाउँपालिकाले आधा/आधा लिने सहमति भएको भन्दै अध्यक्ष चौधरीले भने, ‘उक्त बैठकमा १ करोड ८५ लाखमा पहिलेकै ठेकेदार (निमियामाइ निर्माण कम्पनी) लाइ ठेक्का दिने सहमति भयो, तर उसले अझै रकम घटाउने भन्दै आलटाल गर्‍यो।’

निमियामाइ निर्माण कम्पनीले ठेक्का सकार गर्न आलटाल गरेपछि कार्यपालिकाको बैठकबाटै निर्णय गरेर १ करोड ९ लाख रुपैयाँमा चार महिनाका लागि नवगावा निर्माण कम्पनीलाइ नयाँ ठेक्का लगाइएको अध्यक्ष चौधरीले बताए।

उनले कार्यपालिकाको बैठकबाट पुरानो ठेक्का रद्ध गरिएको निर्णय गरी नयाँ ठेक्का लगाइएको बताए। नयाँ ठेक्का लगाउने निर्णय कार्यपालिकाको बहुमतले अनुमोदन पनि गरेको दाबी उनले गरे। आफन्तले ठेक्‍का नपाएको झोकमा उपाध्यक्ष महत्तोले झुठो आरोप लगाएको अध्यक्ष चौधरीले बताए।
अन्नपूर्णपोस्टबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments