Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

बीबीसी, १३ चैत्र । बीसको उमेरमा प्रवेश गरिसकेपछि पनि अधिकांशले ‘अझै ठूलो भएको छैन’ भन्ने भनाइ सुन्नु परिरहेको हुन्छ । यसरी वैज्ञानिकहरुले पहिलोपटक किन २० कटिसकेपछि पनि मानिसहरुको व्यवहार वयश्कसँग मेल खाँदैन भन्नेबारे स्पष्टिकरण दिएका हुन् ।

मस्तिष्क सम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिकहरुका अनुसार तीसको उमेरमा प्रवेश नगरुन्जेल मानिस पूर्ण रुपमा वयश्क हुन सक्दैन । तर अधिकांश राष्ट्रहरुमा १८ वर्षकै उमेरमा मानिस वयश्क हुने उल्लेख गरिएको छ र १८ पुगेपछि नै हामीले चुनावमा भोट हाल्न, मदिरा खरिद गर्न पाउछौँ भने पुलिससँग झमेलामा परेमा पनि हामीसँग वयश्क जस्तै व्यवहार गरिन्छ ।

यस्तोमा अक्सफोर्डमा चिकित्सा विज्ञान एकेडेमीद्वारा आयोजित स्नायु विज्ञान बैठकमा सहभागी विशेषज्ञ मध्ये क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर पिटर जोनसले प्रत्येक व्यक्ति छुट्टाछुट्टै उमेरमा वयश्क हुने दाबी गरेका हुन् । १८ वर्ष कटिसकेपछि पनि मान्छेको मस्तिष्कमा विभिन्न परिवर्तनहरु आइरहने हुँदा यसले उनीहरुको व्यवहारमा पनि प्रभाव पार्ने गरेको, जसकारण तिनको दिमाग वयश्क जसरी पूर्ण रुपमा विकसित नहुने जोनसले बताए ।

उनी भन्छन्, “हामीले के भन्न चाहेका हौँ भने बाल्यकालबाट वयश्कतामा प्रवेश गर्दा हामीले यसबारे अहिलेसम्म सुन्दै आएका सबै परिभाषा हास्यास्पद छन् । किनकी वास्तवमा त्यो क्षण अत्यन्तै जटिल हुन्छ । जसकारण हामीलाई त्यो चरणमा पुग्न तीन दशक लाग्छ ।”
उनले थप भने, “मेरो अनुमानमा शिक्षा, स्वास्थ्य र कानुनमा वयश्कताको १८ वर्षे परिभाषा दिनुले यी प्रणालीलाई सहज बनाइदिएको छ । त्यसैले नै सबैमा यही मान्यता व्यापक बनेको हो । तर वास्तवमा मानिस बाल्यकालपछि सिधै वयश्कतामा प्रवेश नगरेर बीचको मार्गमा पनि लामो समयसम्म हिँडिरहेको हुन्छ ।”

यसकारण नै अनुभवि अपराधिक न्यायकर्ताले एक १९ वर्षे अभियुक्त र तीस वर्ष कटिसकेका एक गम्भीर अपराधीबीचको फरक सहजै पहिचान गर्न सक्ने उनले बताए । उनका अनुसार जसरी मानिसहरुलाई पुतली झुसुलेकिराबाट बन्छ भन्ने कुरामा चित्त बुझाउन मन लाग्दैन त्यसरी नै समाजले अनपेक्षित सत्य लुकाउने प्रयास अन्र्तगत यस्तो मान्यता अपनाएको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया