Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

एजेन्सी, १३ चैत्र । हिजोआज स–साना बालबालिकाहरुलाई पढाउन कागजको प्रिन्टेड किताब भन्दा पनि ट्याब्लेट लगायत विद्युतीय डिभाइसको प्रयोग गर्ने चलन बढ्दै गएको छ । तर हालै गरिएको एक नयाँ अनुसन्धानमा बालबालिकाहरुले डिभाइसको तुलनामा प्रिन्टेड किताबबाट पढ्दा बाबुआमासँग बढी अन्तरक्रिया गर्ने र प्रभावकारी साबित हुने पत्ता लगाइएको हो । पेडियाट्रिक्स जर्नलमा सार्वजनिक गरिएको सो अध्ययनले यस्तो दाबी गरेको छ ।

प्रायः अभिभावकहरुले ‘बच्चाहरुले जसरी भएपनि सिक्ने त हो’ भन्दै इलेक्ट्रोनिक माध्यमबाट पढाउने गरेको पाइन्छ । सबैको घर–घरमा मोबाइल ट्याब्लेट हुने हुँदा प्रिन्टेड किताब भन्दा धेरै सस्तो र सहज हुने, अतिरिक्त ठाउँ नलिने हुनाले पनि पछिल्लो समय इलेक्ट्रोनिक किताब (इ–बुक) लोकप्रिय बन्दै गएको छ । अमेरिकामा मात्र २०११ देखि १४ मा विद्युतीय माध्यमबाट पढाउनेको दर १७ प्रतिशतबाट २८ प्रतिशत पुगेको हो । तर वास्तवमै स–साना बालबालिकाहरुका लागि यी दुई माध्यम फरक साबित हुने गरेको अध्ययनमा उल्लेख गरिएको छ ।

अभिभावक र बालबालिकाबीच सकारात्मक अन्तरक्रियालाई बढावा दिन प्रिन्टेड किताब हामीले सोचे भन्दा धेरै प्रभावकारी हुने गरेको डाक्टर टिफनी मन्जरले एबीसी न्युजसँग बताएकी हुन् । उनी युनिभर्सिटी अफ मिचिगनको मोट चिल्ड्रेन अस्पतालमा बाल विकास व्यवहार विभागमा आवद्ध छन् । उनी भन्छिन्, “हाम्रो उद्देश्य अभिभावकहरुलाई अफ्ठ्यारोमा पार्नु नभएर बलबालिकाहरुको दिमागी विकास गराउने किसिमका सामाजिक गतिविधिमा केन्द्रित रहन मद्दत गर्नु हो ।”

उनका अनुसार हाल तीस प्रतिशत बालबालिकाले हप्तामा एकपटक त इ–बुक पढेकै हुन्छन् ।

अनुसन्धानका क्रममा डा.मन्जर र उनका सहकर्मीहरुले बालबालिका र अभिभावकका ३७ जोडी अध्ययन गरेका हुन् । यसका लागि अभिभावकहरुलाई प्रतिकथा पाँच मिनेट गरि तीनवटा कथा ट्याब्लेट र प्रिन्टेड किताबबाट पढाउन भनिएको थियो । जसमा प्रिन्टेड किताब पढ्दा नै बालबालिकाले अभिभावकसँग प्रश्न गर्ने, राम्रो संवाद गर्ने, किताबमा भएका वस्तुलाई औँलाले देखाउँदै पढाइएका कुराप्रति बढी रुची देखाउने गरेको पाइएको हो । यसरी अभिभावक र बालबालिकाबीच राम्रो सम्बन्ध स्थापित गराउनमा प्रिन्टेड किताब धेरै उपयोगी साबित हुने बताइएको हो ।

डाक्टर मन्जरका अनुसार डिभाइसबाट पढ्दा तिनमा हुने बटन, अटोमेटिक आवाज लगायतका फिचरले बालबालिकाको ध्यान मुख्य विषयबाट हटाउने गर्दछ । त्यसैले पनि राम्रो नतिजाका लागि झन्झट नमानि प्रिन्टेड किताबकै प्रयोगमा जोड दिन उनले सुझाव दिएकी हुन् ।

तपाईको प्रतिक्रिया