Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडाैं, १३ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ ।

फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको अध्यागमनले प्रवेश दिएन । मरिसस प्रहरी र अध्यागमनका कर्मचारीले धेरैबेर केरकार गरेपछि पाँचै जनालाई सोही दिन दुबई हुँदै नेपाल फिर्ता गरिदियो । उनीहरू पर्यटक भिसामा फागुन १६ गते काठमाडौंबाट दुबई हुँदै अफ्रिकी मुलुक मरिसस गएका थिए ।

अध्यागमन कर्मचारीले नै फागुन ७ मा ती ५ युवालाई कागजपत्र नमिलेको भन्दै फर्काइदिएका थिए । त्यसको एक सातापछि पुरानै कागजपत्रका आधारमा अध्यागमन कर्मचारीले उनीहरूलाई उडाए । सुरुमा प्रस्थान अनुमति नदिएका ५ जनालाई के कारणले पुरानै कागजपत्रका आधारमा कर्मचारीले प्रस्थान अनुमति दिए अनुसन्धानको विषय बनेको छ ।

मरिसस अध्यागमनले फर्काइदिएपछि रुकुम फर्केका अविनाशले पहिलो पटक जाँदा विमानस्थलले फकाईदिएको र त्यसको एक सातापछि प्रस्थान अनुमति दिएको बताए । ‘फर्काएको एक सातामा नै फेरि के कारणले प्रस्थान अनुमति दिएको हो, त्यसबारे हामीलाई केही थाहा छैन’, उनले भने, ‘हामीलाई लैजानै मान्छेले नै एयरलाइन्स र अध्यागमनमा मिलाएका हुन् ।’ याे समाचार शम्भु कट्टेलले अन्नपूर्णमा लेखेका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया