Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, १२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता–कार्यकर्ताहरुलाई पार्टी हितविपरीतका काम नगर्न सचेत गराएको छ । सोमबार बसेको समितिको पहिलो बैठकले नेता–कार्यकर्ताहरुलाई पार्टी हित विपरितका कामकारवाही र गतिविधिहरु नगर्न सचेत गराएको हो ।

पार्टी हित विपरितका कामकारवाही र गतिविधिहरु लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत् सार्वजनिक रुपमा प्रकट गरेमा पार्टी विधान र नियमावली बमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्र पर्ने अनुशासन समितिले जनाएको छ ।

‘‘पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरितका कामकारवाही र गतिविधिहरु लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत् सार्वजनिक रुपमा प्रकट गरेमा त्यस्ता कामकारवाही र गतिविधिहरु पार्टी विधान र नियमावली बमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकोले त्यस किसिमका गतिविधिहरु नगर्न–नगराउन सम्बन्धित सबैमा यसै सूचना मार्फत् जानकारी गराईन्छ,’’ बैठकपछि केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

बैठकले पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कामकारवाही र गतिविधि गरेको देखिए चैत मसान्तभित्र समितिसमक्ष प्रमाणसहित उजुरी दिन सकिने संयोजक भीष्मराज आङ्दम्बेले बताएका छन् । उनले प्रमाणसहित आएका उजुरीमाथि केन्द्रीय अनुशासन समितिले छानबिन गरेर कारवाही गर्ने पनि बताए ।

‘‘पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि कामकारवाही र गतिविधि गरेको भएमा त्यस्ता कामकारवाही र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानबिन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत् जानकारी गराइन्छ,’’ विज्ञप्तीमा उल्लेख छ ।

बैठकले केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७५ पनि पारित गरेको छ । चैत ४ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको थियो । समितिमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, धनराज गुरुङ र उमाकान्त चौधरी सदस्य रहेका छन् । संस्थापन पक्ष र संस्थापन इतर समूहबीचको लामो रस्साकस्सीपछि सहमतिबाट निर्णय गर्ने गरी अनुशासन समिति गठन भएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments