Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, ११ चैत । चैतभित्र सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि नियन्त्रणमा लिने बताएको छ ।

सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले चैतभित्रै विप्लवका गतिविधि नियन्त्रणमा लिइने दाबी गरे।

‘एक महिनाभित्र गतिविधि नियन्त्रणमा लिइसक्छ’, ओलीले भने, ‘राम्रो बाटो आए ठिकै छ। नभए जेलको बाटो गरी मूलधारमा आउँछ। त्यो पनि चैत महिनाभित्रै।’

यसअघि आइतबार संसद बैठकमा बोल्दै प्रधानमन्त्रीले विप्लव समूहलाई लुरूलुरू हतियार बुझाउन नभए कारबाही भोग्न तयार रहन चेतावनी दिएका थिए।

सरकारले फागुन २८ गते विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो।

संसदीय दलको बैठकमा बोल्दै ओलीले लगानी सम्मेलनमा केही मुलुक सहभागी नहुँदा फरक नपर्ने बताए।

‘लगानी सम्मेलनको तयारी उत्साहजनक छ’, ओलीले भने, ‘केहीले चासो नदेखाउँदैमा फरक पर्दैन। सबैका आफ्ना स्वार्थ हुन्छन्।’

उनले सरकारले काम गर्दासमेत भ्रम पैदा गर्ने काम भएकाले सांसदहरूले अब गाउँमा गएर भ्रम चिर्न निर्देशन दिए।

‘गाउँ-गाउँ गएर भ्रम चिर्नुस्’, ओलीले भने, ‘सरकारले राम्रो काम गरेको जनतालाइ बुझाउनुस्।’

उनले केन्द्रीय सरकार बजेट निर्माणमा अगाडि बढेको उल्लेख गर्दै बजेटमा राख्नै पर्ने विषयहरु टिपेर ल्याउन सांसदलाई सुझाव दिए।

‘एक महिनाभित्र बजेट अधिवेशन सुरू हुन्छ’, ओलीले भने, ‘आगामी बजेटमा राम्रा कुरा के राख्ने गाउँ पुगेर टिपेर ल्याउनुस्।’

संसदको हिउँदे अधिवेशन आइतबार सकिएको थियो। हिउँदे अधिवेशन सकेर निर्वाचन क्षेत्र फर्किन लागेका सांसदहरूलाई निर्देशन र सुझाव दिन आज संसदीय दलको बैठक बसेको हो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments