Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ११ चैत्र । समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको कांग्रेसले जनाएको छ ।

बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिइन्। उनकाअनुसार पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा पनि समीक्षा गरिने छ ।

सङ्घीय संसद्को तेस्रो अधिवेशन आइतबारबाट सम्पन्न भएको छ । विधेयक अधिवेशनका नामले समेत चिनिने यस अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबीचको समझदारीका कारण अधिकांश विधेयक सहमतिका आधारमा पारित भएका थिए ।

आइतबार प्रतिनिधिसभाको हिउँदे अधिवेशन समापनका अवसरमा संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विधेयक सहमतिमा पारित हुनु ठूलो उपलब्धी भएको बताएका थिए । ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई तुरुन्त हतियार बुझाउन चेतावनी दिएका छन्।
सोही अवसरमा कांग्रेसकातर्फबाट पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारका राम्रा काममा रचनात्मक सहयोग हुने बताए । उनले विप्लवसँग पनि शान्ति सम्झौता गर्नुपर्ने धारणा राखेका थिए।

गच्छदारले सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र सूचना प्रविधिसम्बन्धी विधेयकका केही बुँदा मुलुक र जनताको हितमा नभएको भन्दै संसदबाट ती विधेयक फिर्ता गर्न माग गरेका थिए । रासस

तपाईको प्रतिक्रिया