Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ११ चैत्र । सरकारी तह मार्फत नै नेपाली श्रमिकहरुलाई जापान लैजाने सम्बन्धमा नेपाल र जापानबीच आज दुई पक्षीय सम्झौता हुने भएको छ । जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ लगायत एक दर्जन भन्दा बढी क्षेत्रमा काम गर्नका लागि नेपाली श्रमिकहरु लैजान लागेको हो । जसअनुसार पाँच वर्षमा झन्डै साढे ३ लाख विदेशी श्रमिक जापान जानेछन् ।
जापानले भन्यो–नेपालबाट कामदार ल्याउने प्रक्रियामा म्यानपावर र दलाल सहभागी हुनु हुँदैन

श्रमिकको छनोट प्रक्रिया आउँदो अप्रिल महिनाबाट सुरु हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । जापानले त्यसखालका श्रमिक नेपाल समेत म्यान्मार, थाइल्याण्ड लगायतका देशबाट पनि लैजाने बताइएको छ । भाषाको ज्ञान तथा सम्बद्ध क्षेत्रको अनुभवका आधारमा उनीहरुले तोकिएको काम पाउन सक्नेछन् ।

जापानले नेपाली कामदार लैजाने, चैतदेखि कार्यान्वयनको तयारी

यसअघि विभिन्न कन्सल्टेन्सी र म्यानपावर कम्पनीबाट जापान जानको लागि २० लाख रूपैयाँसम्म सर्वसाधारणले खर्च गर्ने गरेका थिए । तर, रोजगारीको ग्यारेन्टी नहुने र कतिपय त फर्काइएका घटनासमेत सार्वजनिक हुँदै आएका थिए । कतिपय भने शरणार्थीको रुपमा समेत बस्दै आएका थिए । तर, पछिल्लो सम्झौतापछि अब जापानमा जानेले त्यसरी अप्ठेरो महसुस गर्नु नपर्ने बताइएको छ ।

जापानमा श्रमिकहरुको अभाव रहेकोले दक्ष र अर्धदक्ष दुवै खालका श्रमिकहरु त्यता लगिने सम्भावना रहेको बताइएको छ ।

दिउसो १२ बजे काठमाडौंको एक होटलमा हुने सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया