Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

अनलाइन निचर, १०  चैत्र । गतसाता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहविरुद्ध चलाएको कारबाहीमा प्रहरीले ठूलै सफलता पाएको छ । चैत्र २ गते शनिवार प्रहरीले चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई पक्राउ गरेपछि चैत्र ९ गते शीर्ष तहका अर्का नेता हेमन्तप्रकाश ओली पनि गिरफ्तारीमा परेका छन् । नेपालका प्रमुख दैनिक पत्रिकाले चन्द समूहको समाचारलाई गत साता महत्त्वका साथ प्रकाशित गरे ।

कान्तिपुर तथा नागरिक दैनिकले चैत ३ गते चन्द समूहको समाचारलाई मुख्य समाचार बनाए । कान्तिपुरले नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई प्रहरीले पक्राउ गरेको समाचारलाई मुख्य समाचारभित्र बक्स बनाएर प्रस्तुत गर्‍यो । त्यस्तै कान्तिपुरले चन्द समूहको गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाइएको समाचारलाई पनि महत्त्वका साथ प्रकाशित गर्‍यो । आइतवारको नागरिकको समाचार चन्द समूहको प्रतिबन्धको विषयमा रह्यो । नागरिकले ‘ध्वंस रोक्न प्रतिबन्धको आड’ शीर्षकमा प्रकाशित समाचारको मुख्य सन्देश सरकारले ध्वंसात्मक कार्य रोक्न चन्द समूहलाई प्रतिबन्ध लगायो भन्ने थियो । कार्कीको गिरफ्तारीको समाचारलाई नागरिकले पनि चौथो पृष्ठमा बक्स बनाएर प्रकाशित गरेको थियो ।

सोमवारको नागरिकले सरकारले चन्द समूहमाथि विशेष निगरानी तथा सुरक्षाका विषयमा आवश्यक सावधानी अपनाउन गरेको परिपत्रको समाचारलाई मुख्य बनायो । नागरिकका अनुसार उक्त परिपत्रमा सुरक्षा प्रभावकारी बनाउन तथा राष्ट्रिय गौरवका आयोजना÷परियोजना, विकास निर्माण तथा स्थानीय निकायका कामकारबाही सुरक्षाका कारण प्रभावित हनु नदिने वातावरण तयार गर्ने उल्लेख गरिएको छ । चारवटै सुरक्षा निकायले सो व्यहोराको परिपत्र देशैभरी आआना मातहतका निकायमा संप्रेषण गरेका छन् ।
सोमवारनै गोरखापत्रले प्रकाशित गरेको मुख्य समाचारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समूहसँगको राजनीतिक संवादमा पूर्णविराम नलागेको ब्यहोरा उल्लेख गरिएको छ ।

बुधबारको अन्नपूर्ण पोस्टले ‘विप्लव खोज्दै सेना’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । सो समाचारअनुसार चन्द समूहका नेता तथा कार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । कालिकोटबाट संप्रेषित समाचारअनुसार नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समूहले सो जिल्लामा संयुक्त गस्ती सुरु गरेका छन् ।

बिहीवार गोरखापत्रले पुनः विप्लव समूहलाई हतियार छाडेर आउन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गरेको आह्वानलाई प्रथम पृष्ठको मध्य समाचार बनायो । यो समाचारलाई राजधानी तथा कान्तिपुरले पनि प्रथम पृष्ठमा एक कोलमको समाचार बनाए ।

शुक्रवारको हिमालय टाइम्सले विप्लवका कार्यकर्ता धमाधम पक्राउ परेको समाचारलाई मुख्य बनायो । नागरिकले पनि ‘विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन’ शीर्षक राखेर मुख्य समाचार बनायो । नख्खु र बसुन्धरामा भएको विस्फोटका आरोपीलाई प्रहरीले पक्राउ गरेको समाचार कान्तिपुरले पनि एक कोलममा प्रकाशित गर्‍यो ।

नेत्रविक्रम चन्दको समूहलाई प्रतिबन्ध गर्नु घातक हुनसक्ने भनेर नेपाली सेनाले दिएको अभिव्यक्तिबाट सरकार रुष्ट भएको र सो सन्दर्भमा स्पष्टीकरण मागेको समाचार नागरिकले शुक्रवार एक कोलममा प्रकाशित गरेको छ ।

शनिवारको दिन प्रहरीले चन्द समूहका दोस्रो तहका नेता हेमन्तप्रकाश ओलीलाई गिरफ्तार गरेको समाचार आइतवारका पत्रिकाले महत्त्वका साथ प्रकाशित गरेका छन् ।

शशांक कोइरालाको वैचारिक उल्झन

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बुधबार आफ्नो निवास टोखामा फागु पूर्णिमा मनाउन ठूलै जमघट गरे र सो अवसरमा धर्म निरपेक्षतामात्रै होइन संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्नुपर्ने आवश्यकता रहेको बताए । यो समाचारलाई अन्नपूर्ण पोस्टले एक कोलमको मुख्य समाचार बनायो भने हिमालय टाइम्सले मध्य पृष्ठमा चार कोलम बराबरको स्थान दियो । उनले धर्म निरपेक्षताको सन्दर्भमा तत्काल जनमत संग्रह गर्न सरकारलाई दबाब दिन आह्वान गर्दै धर्म निरपेक्षता घोषणा गर्नु गलत भएको बताएका थिए ।

तर, शुक्रवार शशांक कोइरालाले आफ्नो भनाइ सुधारेका छन् । कोइरालाको विवादास्पद भनाइपछि उनले फेरि बोली सुधारेबाट उनको राजनीतिक र सैद्धान्तिक उल्झन प्रष्ट भएको छ ।

नागरिक दैनिकले यस विषयमा ‘जनमत संग्रह अनावश्यक’ भन्दै बिहीबार सम्पादकीय लेख्यो । नागरिक लेख्छ, “संविधानमार्फत समाधान भइसकेको मुद्दामा फेरि जनमत संग्रह गर्नुपर्ने मागको औचित्यमा प्रश्न गर्नुपर्ने ठाउँ छन् । यस्ता कुनै राजनीतिक प्रश्न भए संविधान जारी हुनुअघि उठाउनु र निरुपण गर्नु उचित हुन्थ्यो ।” नागरिक भन्छ, पटकपटक यस्ता मुद्दामा मुलुकलाई कचल्ट्याइरहनु भनेको देशलाई अस्थिरतामा राखिराख्नु हो ।

ठग मेडिकल कलेज

जनताको जीवन रक्षा गर्ने चिकित्सक उत्पादन गर्नेजस्तो पवित्र कार्यमा संलग्न मेडिकल कलेजनै लुटेराका रुपमा देखिएका छन् । गत साताका दैनिक पत्रिकाले मेडिकल कलेजहरूको ठगीको विषयलाई महत्त्वका साथ उठाएका छन् ।

सोमवारको कान्तिपुरले किस्ट कलेज, युनिभर्सल कलेज, चितवन कलेज, नेसनल कलेज र गण्डकी कलेजको फोटोसहित प्रकाशित गरेर यी सबै कलेजलाई ठग कलेजको रुपमा चित्रित गरेको छ । सुदीप कैनीद्वारा लिखित सो समाचारमा चिकित्सा शिक्षा विज्ञ टोलीले तयार पारेको प्रतिवेदनअनुसार पाँचवटै मेडिकल कलेजले फरक–फरक शीर्षकमा अनधिकृत रुपमा विद्यार्थीसँग शुल्क उठाएको उल्लेख छ । ती कलेजले उठाएको शुल्क पनि विद्यार्थीपिच्छे फरकफरक छ ।

राजधानी दैनिकले बुधबारको पत्रिकामा युनिभर्सल मेडिकल कलेजले तीन करोडको ठगी गरेको समाचार प्रकाशित गरेको छ । समाचारअनुसार सो कलेजले एमबीबीएस अध्ययनरत एक सय विद्यार्थीबाट वार्षिक शुल्क र विद्यार्थी सेवा शुल्कको नाममा प्रतिविद्यार्थी २ लाख ८४ हजार ९०० असुलेको देखिएको छ । त्यस्तै गण्डकी मेडिकल कलेजले अवैधरुपमा ५३ करोड ठगी गरेको पनि सो दैनिकले जनाएको छ ।

बिहीवारको कान्तिपुरले शैक्षिक शुल्कको नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी÷अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेको व्यहोराको समाचार प्रकाशित गरेको छ ।

शुक्रवारको राजधानीले ठगीकै सिलसिलामा अर्को समाचार प्रकाशित गर्‍यो । प्रशान्त वलीद्वारा लेखिएको सो समाचारमा नेसनल मेडिकल कलेज, वीरगन्जले छात्रवृत्ति पाएका विद्यार्थीबाट समेत चर्को रुपमा ब्याज लिने गरेको खुलाइएको छ । वार्षिक शुल्क र होस्टेल शुल्कस्वरुप संयुक्त रुपमा ढिला तिर्ने १२ जना विद्यार्थीबाट ब्याज शीर्षकमा १२ हजार ६ सय लिएको देखिएको छ ।

तपाईको प्रतिक्रिया