Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरादह, ८ चैत्र । झापा जिल्लाको दक्षिणी क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । दिन प्रतिदिन कुकुरको संख्या वृद्धि भई मानिसको निगरानीमा नरहँदा कुकुरको आतंक फैलीएको हो ।

गाउँ घरमा छाडा कुकुरहरुले गाउँलेहरुले पालेका चौपायाहरु गाई का बाच्छा, खसी, बाख्रा र कुखुरा मारीदिएपछि गाउँलेहरु हैरान भएका छन् । भुस्याहा कुकुरहरु गाउँ घरमा भन्दा पनि खेतमा खसी बाख्रालाई ढुकेर बस्ने गर्दछन् । खसी बाख्रा खेतमा ठोकेर छोड्दा कुकुरहरुको हुलले मारीदिने गरेका छन् ।

भुस्याहा कुकुरहरु नियन्त्रण गर्न नसक्दा र दिनै पिच्छे खसी बाख्रा मार्दा गाउँलेहरुले ठूलो क्षति व्योहर्नु परेको छ । गौरादह २ का किसान नगेन्द्र खड्काको ठूलो खसी खेतैमा कुकुरले मारिदिएको छ भने, सोहि दिन अर्का किसान टंक गिरिको माउ बाख्रो खेतमा बाँधिएकै अवस्थामा कुकुरले मारिदिएको छ ।

गौरादह ७ का किसान इन्द्र ताजपुरीयाको बाछो कुकुरले घाइते बनाएको छ भने, सोही वडाका धन बहादुर रपालको बाख्रो खेतैमा मारिदिएको छ । त्यसैगरि गौरादह ८ का रघु तिम्सिना र भिम कुमारी विष्टको खसी र बाख्रा एकै दिन मारिदिएको छ । भुस्याहा कुकुरले दिनै पिच्छे खसी, बाख्रा मार्न थालेपछि आफुले खसी बाख्राहरु घरैमा बाँधेर घाँस, पानी दिन थालेको गौरादह ७ का किसान पर्शुराम माक्रा बताउँछन् ।

गौरादह नगरपालिका भित्र दिनैपिच्छे भुस्याहा कुकुरले खसी बाख्रा मारेको खबर सुनिन्छ । कुकुरको हुलले चौपाया मात्र नभएर मानिसलाई सडकमा हिंड्न समेत समस्या भएको छ । मानिसलाई पैदल हिंड्दा वा साईकल, मोटरसाइकलमा सवारी गरेपनि कुकुरको हुलले झम्टने गरेको छ । कुकुर बाट बच्नको लागि सडकमा हिंड्दा समेत लाठी, मुङग्रा लिएर हिंड्नुपर्ने बाध्यता भएको गौरादह ७ का योगराज भट्टराई बताउँछन् ।

भुस्याहा कुकुरको दिन प्रतिदिन बिगबिगी बढिरहँदा कुकुर नियन्त्रण गर्ने निकाय भने मौन छ । कुकुर कसले नियन्त्रण गर्ने हो यस बारेमा गाउँलेहरु अनभिज्ञ छन् । पशु अधिकार अन्र्तगत कानुन सम्बत सरकारी तवरबाट कुकुर मार्न नमिल्ने गौरादह नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र बताउँछन् ।

भुस्याहा कुकुर नियन्त्रण का लागि नगरपालिकाले कुकुरको संख्या नियन्त्रण गर्न कुकुर बन्ध्याकरण गर्ने तयारी गरेको नगर प्रमुख रोहित कुमार शाह बताउँछन् । नगर कार्यपालिकाको बैठकले कुकुर नियन्त्रणका लागि बन्ध्याकरणको प्रक्रिया अगाडी बढाइसकेको र यसै आर्थिक वर्षमा २ सय वटा कुकुरको बन्ध्याकरण गरिने उपप्रमुख गीता भेटवाल बताउँछिन् ।

तपाईको प्रतिक्रिया