Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, ८ चैत्र । नौं वर्षअघि (सन् २०१०) पहिलो पटक साफ च्यम्पियनसिप आयोजना हुँदा नेपाललाई उपाधि जित्‍न भारत तगारो बनेको थियो । त्यो हार त्यतिमा मात्र सिमित रहेन । त्यसपछिका संस्करण २०१२ र २०१४ मा पनि नेपालले अन्तिम दुईको ढोका खोल्दा भारत नै बाधक बन्‍यो । पछिल्लो पटक २०१६ को संस्करणमा नेपालको यात्रा सेमिफाइनल भन्दा अघि बढ्न सकेन । त्यति बेलामा पनि नेपालको यात्रा टुंगाउने भारत नै थियो ।

बंगलादेशको ढाकामा भएको पहिलो संस्करणमा १–० को नतिजा सुम्पिएको नेपालले श्रीलंकामा आयोजना भएको दोस्रो संस्करणमा भारतलाई ३–१ नतिजा सुम्पिएको थियो ।

साफ च्याम्पियनसिपमा भारतविरुद्ध गोल फर्काउने खेलाडी नेपालकी दिपा राई बनेकी थिइन् । पाकिस्तानको इस्लामावादमा आयोजना भएको तेस्रो संस्करण पनि नेपालका लागि सुखद रहेन । त्यति बेला नेपालले ६–० ले नतिजा सुम्पेको थियो ।

त्यसको दुई वर्षपछि २०१६ मा भारतको घरेलु मैदानमा आयोजना भएको चौंथो साफमा नेपालको यात्रा सेमिफाइनलमा टुंगियो । त्यसमा नेपाल भारतसँग ३–१ को पराजित भएको थियो । नेपालले त्यो संस्करणमा भारतविरुद्ध गोल फर्काउदा स्ट्राइकर साबित्रा भण्डारीले गोल गरेकी थिइन् ।

नेपाल फाइनल पुग्‍न नसकेको त्यो संस्करणमा सावित्रा भने सर्वाधिक १२ गोल गर्न सफल भएकी थिइन् । सावित्रा लगातर नेपाली टोलीको मुख्य खेलाडीका रुपमा रहँदै आइकी छन् ।

यति बेला विराटनगरको सहिद रंगशालामा साफ च्याम्पियनसिपको पाँचौ संस्करण जारी छ । शुक्रबार उपाधिको छिनोफानोका लागि फेरि एक पटक नेपाल र भारत आमनेसामने हुँदैछन् । यसपटक पनि सावित्रा च्याम्पियनको चर्चा मै छन् । यसपटक समूह चरणका दुवै खेल र सेमिफाइनलमा पनि सावित्राले गोल गरिसकेकी छन् ।

विराटनगरको गर्मीमा पनि नेपाल टोलीका हौसला बढाउन रंगशाला पुगेका दर्शकले सावित्राका खुट्टमा बल पर्ने बित्तिकै हुटिङ गर्दै हौसला दिन्छन् । यसले सावित्राको लोकप्रियता प्रष्ट हुन्छ । उनीमात्र होइन, नेपाली टोलीका अन्य सदस्यले पनि उच्च प्रदर्शनको प्रयास गरिरहेको छ । जसका कारणले नेपाल सुरुवातबाटै च्याम्प्यिनसिपको दाबेदारमध्य एकका रुपमा प्रस्तुत भइरहेको छ ।

सावित्राकै उच्च प्रदर्शनबाट प्रेरित नेपाल पछिल्लो दुई भेटमा भारतविरुद्ध सुखद नजिता निकाल्न सफल भएको थियो । कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको थियो । पछिल्लो पटक गत महिना भारतमा भएको हिरो वुमन्स गोल्डकपमा नेपालले भारतमाथि २–१ को जित हासिल गरेको थियो । महिला फुटबलमा भारतविरुद्ध नेपालको त्यो पहिलो जित थियो ।

पछिल्लो केही महिना यता उच्च प्रदर्शन गरिरहेको नेपाली सामू पहिलो पटक च्याम्पियन बन्‍ने अवसर फेरि एक पटक मिलेको छ । त्यसका लागि दक्षिण एसियाको सबैभन्दा बलियो र साफको चारवटै संस्करणको विजेता भारतलाई पार लगाउनु पर्नेछ ।

नेपालले समूह चरणमा भुटान र बंगलादेशमाथि समान ३–० को जित निकाल्दा सेमिफाइनलमा बंगलादेशलाई ४–० ले हराएको थियो । भुटानविरुद्धको खेलमा सोचे अनुरुपको गोलअन्तर हुन नसकेपनि बंगलादेशमाथि रोमान्चक जित निकाल्दा खेलाडीले प्रदर्शनमा सुधार देखिएको थियो । प्रशिक्षक हरि खड्काले खेलाडीको मिहिनेतले भारतको विरासत तोड्न तयार रहेको बताएका छन् । उनले फाइनलको दिन नेपालको रहेको बताए ।

उनले भने, “हामी उपाधिका लागि तयार छौं । केही मिहेनत त गर्नुपर्‍यो । समग्रमा हामी ठिक छौं । खेलाडी लयमा छन् । मनोबल उच्च छ । उपाधि हाम्रो हो ।”

दक्षिण एशियामा आफूलाई अब्बल प्रमाणित गरीसकेको भारतविरुद्ध प्रशिक्षक खड्काले मेहनतको रणनीति बनाएका छन् । उनले भने, “हामीले जित्‍ने भनेको मेहनतले हो । भारत देश पनि ठूलो, लगानी पनि धेरै। खेलाडी शारीरिक र टेक्नीकल रुपमा अब्बल छन् । हामी प्रमाणित गर्ने स्थानमा छौं । त्यही भएर भारतविरुद्ध लडेर उपाधि जित्‍नेछौं।”

लगातार पाँचौं पटक उपाधिउचाल्ने दाउमा रहेको भारतले भने यसअघि नेपालसँग भएको हिरो वुमन्स गोल्डकपको बदला लिँदै उपाधि जित्‍ने योजना बनाएको छ । प्रशिक्षक मायाराम रक्कीले विगतभन्दा खेलमा बढी केन्द्रित हुने बताइन् । नेपालविरुद्ध दबाब र सहज महसुस नगरी खेल्ने उनको भनाई छ । घरेलु मैदानमा साफ आयोजना हुने पक्का भएपछि विशेष तयारीमा जुटेको नेपाल पछिल्ला दुई नतिजाबाट उत्साहित छ ।

ओलम्पिक छनोट,लगत्तै घरेलु प्रतियोगिता र हिरो वुमन्स गोल्डकपमा सहभागी खेलाडी निरन्तरको खेलले लयमा छन् । विशेषत भारतमाथि एतिहासिक जितले नेपाललाइ फेरी साफमा भारतको विरासत तोड्ने मौका छ ।

साफ च्याम्पीयनसिपमा चार पटक भेट भएपनि नेपाल र भारतबीच सम्रगमा १० पटक प्रतिस्पर्धा भएको छ । ४ पटक दक्षिण एशियाली खेलकुद,ओलम्पीक छनोट र हिरो गोल्डकप गरी १० पटक भएको प्रतिस्पर्धा नेपाल १ पटकमात्र विजयी भएको छ ।

तपाईको प्रतिक्रिया