एजेन्सी, ६ चैत्र । इन्डोनेशियाको वेस्ट जाभास्थित सुकाबुमी नामक एउटा सानो गाउँमा बस्ने आठ वर्षीय बालक अहिले धेरैका निम्ति प्रेरणाका पात्र बनिरहेका छन् । जन्मदै शारीरिक रुपले अशक्त, अब्दुल होलिकका दुवै खुट्टा चल्दैनन् । तर यस कमजोरीलाई उनले कहिल्यै आफ्नो पढाइप्रतिको रुचीमा बाधा पुर्याउन दिएनन् ।

यसरी दुवै हातमा चप्पल लगाएका अब्दुल हात टेकेरै चट्टानयुयक्त भिरालो बाटो हुँदै ६ किलोमिटर टाढा रहेको विद्यालय सम्मको संघर्षपूर्ण यात्रा गर्ने गर्दछन् । यसैले विद्यालयभर उनको बहादुरीको अधिक चर्चा हुने गरेको छ । शारीरिक अशक्ततालाई कहिल्यै आफ्नो कमजोरी बन्न नदिएका अब्दुलले तीन वर्षको हुँदादेखि नै आफूलाई विद्यालय पठाउन बिन्ती गर्ने गरेको आमा पिपिन बताउँछिन् । उनले भनिन् , ‘अब्दुल पढ्न सिक्न चाहान्थ्यो र कसरी अरुजस्तै बन्ने भनेर सोध्ने गर्दथ्यो । तर म आफ्नो अशक्त छोरालाई कहाँ पढाउने भन्नेबारे ठूलो द्विविधामा थिएँ । ’ उनका अनुसार यसै चिन्ताले उनी रातरातभर जाग्ने गर्थिन् । तर केही समयपछि उनले हप्तौँ लगाएर एक विद्यालयको खोजी गरिन् जो अब्दुललाई शारीरिक कमजोरीका बावजुद अपनाउन तयार थियो ।

तर सो स्कुल उनको घरबाट ६ किलोमिटर टाढा भएको हुँदा पहिले त पिपिनले अब्दुललाई स्कुल पठाउन सम्भव छैन भन्ने ठानेकी थिइन् । किनकी त्यो सानो गाउँमा बस लगायत सवारीको कुनै सुविधा थिएन । तरपनि अब्दुल र उनको परिवार यस विषयमा दृढ थिए । यसैले उनीहरुले अब्दुललाई बिस्तारै हातले हिँड्न सिकाए र पिपिनको सहायतामा अब्दुल स्कुल जान थाले । अहिले उनी एक्लै सबै भिरालो बाटो पार गर्न सक्षम भइसकेका छन् । अब्दुलका अनुसार उनलाई वर्षायाममा मात्र बाटोहरु चिप्लो र जोखिमयुक्त हुने गरेकाले कठिनाइ हुने गरेको छ ।

त्यसैले ती दिनहरुमा परिवारले उनलाई ट्याक्सी वा मोटरसाइकलमा राखेर लैजाने गरेका छन् । तर एक किलोमिटरको सवारी शुल्क (इन्डोनेशियाको मुद्रा) आइडिआर ७,००० लाग्ने हुँदा परिवारसँग अतिरिक्त पैसा भएका बेला मात्र उनले यस्तो सुविधा पाउने गरेका छन् । परिवारले नसकेको अवस्थामा उनी जोखिम मोलेर वर्षामा पनि हात टेकेरै स्कुल पुग्ने गरेका छन् ।

विद्यालयका प्रधान अध्यापक एपी मुल्यादिले अब्दुलको पहिलो कक्षा सम्झदै आफूले पहिलो दिनमै उनीमा अधिक क्षमता देखेको बताए । पढाइप्रति उनको उत्साह र लगनशीलताले नै आफ्नो मन जितेको हुँदा अब्दुललाई विद्यालयमा भर्ना दिलाउने निर्णय लिएको उनको भनाइ छ । उनले भने, ‘उनी भर्ना हुँदा उनकी आमा अत्यन्तै चिन्तित भएकाबारे मलाई राम्रो थाहा थियो । त्यसैले मैले नै उनलाई अब्दुल शारीरिक बाहेक अरु सबै ढङ्गमा सक्षम भएकाबारे सुनिश्चित गराएँ । उसलाई साथीहरुसँग घुलमिल हुनदेखि पढाइमा सबैसँग अगाडि बढ्नमा समेत कुनै समस्या नभएको हामीले देखेका छौँ ।’ त्यस्तै शारीरिक समस्या भएपनि उनी अतिरिक्त क्रियाकलाप र खेलकुदमा सक्रिय रहने गरेको एपिले बताए ।

यसैले पनि अहिले तीन कक्षामा पढ्ने अब्दुललाई सबै शिक्षकहरुले अत्यन्तै एक्टिभ र मिहिनेती विद्यार्थीका रुपमा व्याख्या गरेका छन् । अब्दुल भने विद्यालयमा राम्रो अङ्कले उत्तीण भइ ठूलो शहरको युनिभर्सिटीमा पढाइ पूरा गर्न चाहान्छन् । उनले भने, ‘ मेरो लक्ष्य एउटा आगो नियन्त्रक बन्ने हो किनकी म मानिसहरुको मद्दत गर्न चाहान्छु र मेरा बाबुआमालाई खुसी राख्न चाहान्छु । ’ यसबाहेक उनको चिकित्सक बन्ने सपना रहेको उनले बताए । डाक्टरले पनि दुःख र पीडामा भएकालाई मद्दत गर्ने भएकाले आफूलाई यसमा पनि अधिक रुची रहेको उनले बताएका हुन् । यसरी शारीरिक कमजोरीका बावजुद अब्दुल आफ्नो सपना पूरा गर्न निरन्तर संघर्ष गरिरहेका छन् र सबैका लागि प्रेरणा बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Comments