Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, ६ चैत्र । एनसेल मुख्यालय र बसुन्धरामा बम विस्फोट गराउने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्न प्रहरीले काभ्रेमा गोली चलाएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काभ्रेको रोसी गाउँपालिका–२ खहरेपाँगुबाट विप्लव नेतृत्वको माओवादीका २ कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसअघि काठमाडौंमा पक्राउ परेका दुईजना कार्यकर्ताको बयानपछि प्रहरीको टोली काभ्रे पुगेको थियो । विशेष सूचनाका आधारमा पुगेको आफूहरुको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि आफूहरुले पनि जवाफी फायरिङ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा प्रहरी टोली काभ्रेको रोसी पुगेको थियो । नख्खुस्थित एनसेल र बसुन्धरामा विस्फोट गराउने कार्यमा संलग्न ४ जनालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै गएको महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरेपछि जवाफी कारबाही गरिएको निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए ।

“विप्लव नेतृत्वमा रहेका र उनका एकदमै नजिक मानिएका नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित काठमाडौंमा विस्फोट गराउने समूह त्यहाँ रहेको विशेष सूचनाका आधारमा टोली पुगेको थियो,” प्रहरी स्रोतले भन्यो, “ठूलै संख्यामा रहेका उनीहरुलाई पक्राउ गर्ने प्रयास गर्दा उनीहरुको तर्फबाट गोली चलेपछि हामीले पनि चार राउण्ड गोली हानेका हौं ।”

रातिको समयमा भएको हुँदा त्यहाँ भएका कतिपय कार्यकर्ता भाग्ने मौका पाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति पक्राउ परेका दुईजना कार्यकर्ता बम बनाउने र पड्काउने समूहकै हुन् । उनीहरुकै योजनामा काठमाडौंसहित विभिन्न स्थानमा बम पड्काइएको थियो ।

विप्लव समूहको मध्ये ब्यूरोका विशेष कार्यकता पक्राउ गरिएको भए पनि नाम भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया