Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

वाशिङटन, ५ चैत्र । अमेरिकाको क्यालिफोर्नियाका एक दम्पतीलाई नेपाल र भारतबाट कामदार लगेर दुर्व्र्यवहार गरेको भन्दै मानव तस्करीको मुद्दामा २० वर्षसम्मको जेल सजाय तोकिएको छ ।

संघीय अदालतमा ११ दिनसम्मको सुनुवाइपछि ४५ वर्षीय सतिश कर्तन र ४० वर्षीया उनकी पत्नी शर्मिष्ठा बाराहीलाई गएको बिहीबार सो सजाय सुनाइएको साक्रामेन्टोस्थित अमेरिकी न्यायाधीवक्ताको कार्यालयले सोमबार जनाएको छ ।

उनीहरुले विभिन्न आश्वासन दिएर नेपाल र भारतबाट कामदार लैजाने र उता लगेपछि भने बमोजिमको तलब सुविधा नदिइ कुटपिट गर्नुका साथै १८ घण्टासम्म काममा लगाएको बताइएको छ । वक्तव्यमा न्यायाधिवक्ता म्याक ग्रेगर डब्ल्यु स्कटले दम्पतीले मानवअधिकारको उल्लंघन गरेको जनाएका छन् ।

कर्तन र उनकी पत्नीले सन् २०१४को फेब्रुअरीदेखि २०१६ को अक्टोबरसम्म उनीहरुको स्टकटनस्थित घरमा घरेलु कामदारका रुपमा विभिन्न देशबाट कामदार झिकाएका थिए । उनीहरुले अनलाइनमार्फत र भारतीय पत्रिकामा पनि विज्ञापन दिएर कामदार लगेको अमेरिकी अभियोजकको कार्यालयले जनाएको छ ।

ती कामदार अमेरिका पुगेपछि कर्तन दम्पतीले उनीहरुलाई १८ घण्टासम्म काममा लगाएका थिए । भनेअनुसार काम नगरे अध्यागमनमा भनेर कारबाही गर्ने धम्की दिएको बताइएको छ । काम छोड्न खोज्दा उनीहरुले प्रहरीलाई भनेर पक्रिन लगाउने धम्की समेत दिएका थिए । एकजना कामदारले काम छोड्ने भनेपछि सो दम्पतीले ती कामदारलाई कुट्नुका साथै हात जलाइदिएपछि घटना बाहिर आएको हो । सो दम्पतिले कामदारलाई मार्ने र हाड फोहर फाल्ने ठाउँमा फ्याकिदिने भन्दै धम्क्याएका पनि थिए ।

ती दम्पतिलाई आउँदो जुन ६मा जेल पठाइने तय भएको छ । उनीहरुलाई जेलका अतिरिक्त २ लाख ५० हजार अमेरिकी डलरको जरिबाना समेत तिराउने सम्भावना पनि छ । मानव तस्करी अस्वीकार्य अपराध भएको अमेरिकी सहायक न्यायाधीवक्ता इरिक ड्रेइब्यान्डले एक वक्तव्य प्रकाशित गरी जनाएका छन् । (सकबी डट कम)

तपाईको प्रतिक्रिया