काठमाडौं, ७ मंसिर २०८३ । परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवाद तथा पुनरावलोकन गर्नुपर्ने सन्धिसहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल र भारतका प्रधानमन्त्रीले दुरदृष्टि दस्ताबेज सार्वजनिक गरेको दाबी गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ”दुई मुलुकका प्रधानमन्त्रीबाट अघि सारिएको भिजन डकुमेन्टले १९५० को सन्धि लगायत सिमानाका विषयलाई पनि सम्बोधन गर्ने ढंगले आएको छ । ईपीजीका विषय सम्बोधन गर्ने ढंगले उक्त डकुमेन्ट आएको छ । नेपालसँगका असमान सन्धि पुनरावलोकनका लागि भारत तयार भएको छ,” उनले भने ।
नेपाल भारत सीमा विवाद तथा १९५० को सन्धि पुनरावलोकनका लागि दुवै पक्षका प्रवुद्ध व्यक्तिहरूको सहभागितामा गठित संयन्त्रले २०७५ सालमा प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन भारत सरकारले हालसम्म बुझेको छैन । परराष्ट्रमन्त्री खनालले उक्त संयन्त्रले उठाएका विषय पनि सम्बोधन हुनेगरी दुवै राष्ट्रका प्रधानमन्त्रीले भिजन डकुमेन्ट अघि सारेको जिकिर गरेका हुन् ।
अहिलेको भ्रमणमा उच्च तहमा सीमा विवादबारे कुनै कुरा नभएको मन्त्री खनालले बताए । ”दुवै मुलुकका प्रधानमन्त्रीले सीमा विवादबारे आ-आफ्ना विदेशसचिवलाई संयुक्त बैठक राख्न निर्देशन दिनुभएको छ । यो भ्रमणमा सीमाबारे उच्च तहमा भने छलफल भएन । यसबारे उपयुक्त ठाउँमा धारणा राख्ने र त्यसको लागि बैठक गर्ने सहमति भएको छ,” मन्त्री खनालले भने ।
मन्त्री खनालले भारतसँग बागडोरा हवाई रुटबारे कुनै सहमति नभएको प्रस्ट पारे । ”भारतले सैन्य प्रयोजनका लागि होइन नागरिक प्रयोजनकै लागि बागडोरा हवाई रुटका लागि अनुमति मागेको थियो । त्यसमा सरकारले कुनै सहमति दिएको छैन । भैरहवाको हवाई रुटबारे मात्रै हाल सहमति भएको छ,”उनले भने ।
प्रधानमन्त्री शाहको यस भ्रमणले भारतसँगको सम्बन्धलाई संभावनायुक्त सकारात्मक लयमा फर्काएको दाबी मन्त्री खनालको छ ।






