झापा, २८ कार्तिक २०८३ । हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय झापाले हात्ती प्रभावित बाहुनडाँगीका किसानलाई पाकेको बाली समयमै घर भित्र्याउन आग्रह गरेको छ। बाली थन्क्याउन्जेल थप सुरक्षा फौज परिचालन गरी हात्तीको प्रवेश नियन्त्रण गर्ने रणनीतिमा सुरक्षा निकायका प्रमुखहरू रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
हिजो बिहानै एक जना घाइते भएको घटनापछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा नेपाली सेनाका प्रमुख सेनानी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकसहितको टोलीले हात्ती प्रवेशको पूर्वी बिन्दु बाहुनडाँगी नाकाको आकस्मिक भ्रमण गरेको थियो ।
टोली भारततर्फबाट हात्ती प्रवेश गर्ने मुख्य बिन्दु बाहुनडाँगी पुग्दा स्थानीय जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रेखदेख र संरक्षणमा किसानहरू पाकेर पहेँलो भएको धानबाली धमाधम काट्ने र ढुवानी गर्ने काममा जुटेका थिए।
सुरक्षा प्रमुखहरूले स्थानीय किसानसँग खेतीबारीमा नै छलफलसमेत गरेका थिए।बढीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सकिए पाकेको धानबाली सुरक्षित रूपमा घर भित्र्याउन पाइने स्थानीय किसानको माग रहेको छ ।
त्यस मागको यथोचित सम्बोधन गर्न दुवै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनले जिल्लाबाट अतिरिक्त सुरक्षा जनशक्ति खटाई स्थानीय समुदायसँग मिलेर हात्तीको प्रवेश नियन्त्रण गर्न प्रयास गरिने जानकारी दिए ।
स्थलगत अवलोकनपछि स्थानीय वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, संघसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच अन्तरक्रिया पनि भएको थियो ।
हात्ती नियन्त्रणका लागि सो स्थानमा खटिएको सुरक्षा टोलीलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले टर्चलाइट र हाते माइक हस्तान्तरण गरेका थिए । ती सामग्री वडाध्यक्ष कार्कीको पहलमा प्राप्त भएको थियो ।
हाल सो स्थानमा सशस्त्र प्रहरी , नेपाल प्रहरी , डिभिजन वन कार्यालयका कर्मचारी , स्थानीय युवासहितको टोली तैनाथ रहेको छ । हात्ती आएको सूचना प्राप्त हुनासाथ उक्त टोली खटिने गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।






