Online Bichar
आइतबार, कार्तिक ३०, २०८३ | Sunday, November 15, 2026

काठमाडौं, २८ कार्तिक २०८३ । विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफ चरणमा प्रवेश गरेको छ ।

यो जितसँगै लुम्बिनीले शीर्ष स्थानमा रहेर लिग चरण टुंग्यायो । ११ अंक बनाएको लुम्बिनीले सातमध्ये पाँच खेलमा जित र एक हार व्यहोर्‍यो । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

योसँगै प्लेअफ खेल्ने चारै टिमको टुंगो लागेको छ । प्लेअफमा लुम्बिनीसँगै सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र चितवन राइनेजले स्थान बनाएका हुन् ।

शनिबार (कात्तिक २८) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरले प्रस्तुत गरेको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्ट र आरिफ शेखले समान ४५ रन बनाए । टोलीले यी दुईको जोडी जम्दा पावर प्लेमा ३९ रन बनाएको थियो ।

उनीहरूले ११.५ ओभरसम्म ८६ रनको अर्धशतकीय साझेदारी गरे । टोलीको जितमा त्यो महत्त्वपूर्ण आधार बन्यो । विराटनगरका चरिथ अशलंकाले डार्सीलाई ११.५ ओभरमा एलबीडब्ल्यूको धरापमा पारेपछि साझेदारी तोडिएको थियो ।

डार्सी पभेलियन फर्किएपछि लुम्बिनीले एकै ओभरमा दुई विकेट गुमायो । निरोश डिक्वेला र दिलीप नाथ ‘डक’ आउट भएका थिए । पछि आसिफ र नौ रन बनाएका कप्तान रोहितकुमार पौडेल पनि रनआउटको सिकार भए । त्यसपछि लुम्बिनीको ब्याटिङ दबाबमा परेको थियो ।

अली शेखले २७ रन बनाए । सन्दीप जोराले २५ रन जोडे । उनीहरूले ४२ रनको साझेदारी गरे । अली १९.४ ओभरमा क्याच हुन पुगेपछि उक्त साझेदारी तोडिएको थियो । त्यसपछि क्रिजमा प्रवेश गरेका रुबेन ट्रम्पलेमनले छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरिदिएका हुन् ।

विराटनगरका निम्ति अप्रजित पौडेलले दुई विकेट लिए । चरिथ अशलंका र रुपेश सिंहले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा चार विकेट विकेट गुमाएर १६६ रन बनाएको थियो । विराटनगरका निम्ति चरिथले ६४ रनको अर्धशतकीय पारी खेले ।

उनले ४३ बलमा एक चौका र ६ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका निम्ति अविजित रहेका सुभम रञ्जानेसँग ७५ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

एनपीएलमा उनको यो पहिलो अर्धशतक हो । योसँगै उनी जारी सिजनमा अर्धशतक प्रहार गर्ने १५औँ ब्याटर बनेका छन् । जारी सिजनको यो १९औँ अर्धशतक हो । उनले अर्धशतक बनाउने क्रममा एक चौका र पाँच छक्का प्रहार गरे ।

चरिथले १६.२ ओभरमा उनले जीवनदान पाएका थिए । लुम्बिनीका किशोर महतोविरुद्ध चौका प्रहार गर्ने प्रयास गर्दा उनलाई आसिफले क्याच गर्न कोसिस गरेका थिए । तर, हातबाट बल ड्रप भएपछि आसिफ चुकेका थिए ।

अविजित रहेका सुभमले ३१ रन बनाए । ओपनर इम्रान शेखले २४ रन जोडे । उनी खेलका दौरान रिटायर्ट हर्ट भएका थिए । त्यसपछि उनको स्थानमा सुभमले क्रिजमा प्रवेश गरेका थिए । अर्का ओेपनर लोकेश बलमे १५ रन बनाए ।

लुम्बिनीका निम्ति किशोरले दुई विकेट लिए । रुबेन र अभिषेश गौतमले समान एक विकेट लिए ।

हारसँगै विराटनगर किंग्स भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरले लिग चरणमा सात खेलबाट ६ अंक मात्र बटुल्यो । टोलीले सातमध्ये तीन खेलमा जित र चार हार व्यहोर्‍यो ।

तपाईको प्रतिक्रिया