काठमाडौं, २८ कार्तिक २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि विवाद र समस्या नरहेको बताएका छन्।
शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीँ सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको उल्लेख गरे। हल्लामा विश्वास नगर्न आग्रह गर्दै उनले सरकार आफैँले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागीपरेको बताए। सभापति लामिछानेले रास्वपाले आफ्नै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको सङ्केत नभई बलियो आन्तरिक लोकतन्त्रको उदाहरणको रूपमा बुझ्न आग्रह गरे।
रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा भएका बहसहरूलाई सकारात्मक रूपमा लिने गरेको उनको भनाइ छ। त्यस्तै सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई अवसर दिएको भन्दै अहिले पाएको जनमतबाट पनि मधेसले परिवर्तनको आशा र महसुस गर्न सकेन भने आफू अर्को पटक भोट माग्न नआउने बताए।
उनले जनता झुक्काएर भोट माग्ने चरित्र स्थापित हुने हो भने यस्तो राजनीति आफूलाई आवश्यक नरहेको उल्लेख गरे। मधेसी जनताको जीवनमा परिवर्तन प्राप्त गर्ने आशा, भरोसा र विश्वासका साथ आएको अवसरलाई धोका नदिन उनले नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।






