काठमाडौं, २८ कार्तिक २०८३ । अमेरिकामा देशव्यापी उडान रोक हटाइएको छ । तर, हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको खराबीको असर कायमै रहँदा शनिबार दुई हजारभन्दा बढी उडान रद्द भएका छन् ।
पछिल्लो २५ वर्षयताकै लामो देशव्यापी ‘ग्राउन्ड स्टप’पछि सामान्य अवस्थामा फर्कन वायुसेवा कम्पनी प्रयासरत छन् । उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् । व्यावसायिक तथा कलेजस्तरीय खेलकुद टोली वैकल्पिक यातायातको व्यवस्था गर्न बाध्य भएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीका अनुसार, हवाई ट्राफिक नियन्त्रण प्रणालीमा नयाँ प्रविधि थप्दा पुराना उपकरणमा अत्यधिक भार परेको थियो । त्यसका कारण सञ्चार र राडार प्रणालीमा पटक–पटक अवरोध आएपछि चार घण्टाभन्दा बढी समय देशभरका उडान रोक्नुपरेको थियो ।
स्थानीय समयानुसार बेलुका करिब ८ः१५ बजे उडान रोक हटाइएको थियो । त्यसपछि सीमित संख्यामा आन्तरिक उडान पुनः सञ्चालनमा आएका थिए । यद्यपि, यसको असर अझै केही दिनसम्म रहन सक्ने अधिकारीहरूले बताएका छन् ।
‘थ्यांक्सगिभिङ’ पर्वको यात्रु चाप सुरु हुँदासम्म हवाई प्रणाली सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको छ ।
सन् २०२३ जनवरीमा पाइलटहरूलाई सूचना पठाउने संघीय उड्डयन प्रशासन ९एफएए०को अर्को प्रमुख कम्प्युटर प्रणालीमा खराबी आएयता यो पहिलो देशव्यापी उडान रोक हो । सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछिको यो दोस्रो यस्तो घटना हो ।






