Online Bichar
मंगलबार, कार्तिक १८, २०८३ | Tuesday, November 3, 2026

झापा, १७ कार्तिक २०८३ । झापामा दुई पांग्रे सवारी साधन मोटरसाइकल अत्यधिक दुर्घटना हुने गरेको छ । हिजो जिल्लाभरि भएका पाँचवटा मोटरसाइकल दुर्घटनामा ११जना घाइते भएका छन् ।

हिजो साँझ ६ः१५ बजे शिवसताक्षी-८ दुर्गा चोकस्थित झिलझिले– शिवगंज सडकखण्डमा झिलझिलेबाट शिवगंजतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ४३९ नं. को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा पैदलयात्री शिवसताक्षी ८ बस्ने बर्ष ५३ का गोकुल थापा (टाउको, बायाँ खुट्टामा चोट अवस्था गम्भीर) , मोटरसाइकल चालक शिवसताक्षी –८ बस्ने बर्ष १९ की साधना चिमरिया (बायाँ हात र खुट्टामा चोट अवस्था सामान्य) र सोही मोटरसाइकलमा पछाडी सवार शिवसताक्षी-८ बस्ने बर्ष ३३ का बिशाल बुढाथोकी (दाहिने हातमा चोट अवस्था सामान्य) रहेका छन् । तीनैजना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो दिउँसो १ बजे गौरादह-२ बिद्युत प्राधिकरण अगाडी गौरादहबाट गौरीगंजतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ९९८६ नम्बरको मोटरसाइकलले पैदलयात्री गौरादह-१ बस्ने बर्ष ६० की निरा अधिकारीलाई ठक्कर दिएको छ । दाहिने तिघ्रा, दाहिने हात र टाउकोमा चोट लागेकी अधिकारीको गौरादह नगर अस्पताल गौरादहमा उपचार भइरहेको छ । मोटरसाइकल चालक गौरादह-२ बस्ने बर्ष ५६ का सरिला बिक उपचारमा संलग्न रहेका छन् । मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरादहमा ल्याइ राखिएको छ ।

त्यस्तै हिजो बिहान ९ः३५ बजे बुद्धशान्ति ३ काली खोलानजिक चारआली– बुधवारे सडक खण्डमा बुधवारेबाट इलामतर्फ जाँदै गरेको मे.०९ प. ३४१४ नं को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक बुद्धशान्ति-२ सितला मन्दिर टोल बस्ने वर्ष ३४ का सन्तोष खवास घाइते भएका छन् । घाइतेको भगिरथ अस्पताल बुधबारेमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो बिहान १०ः४५ बजे कमल-६ दहिचोकस्थित पाडाजुंगी –गौरीगंज भित्री सडक खण्डमा पाडाजुंगीबाट गौरादहतर्फ जाँदै गरेको बा २१ च ४७४९ नम्बरको कार र बिपरित दिशातर्फबाट आउँदै गरेको को ३० प २३७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी-३ बस्ने बर्ष १८ का अजित रसाइली घाइते भएका छन् । दुबै खुट्टा र छातीमा चोट लागेका रसाइलीको लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेको छ । कार चालक दमक-८ बस्ने बर्ष ४० का भेषराज भण्डारी उपचारमा संलग्न रहेका छन् । दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।

त्यस्तै हिजो बिहान ११ः१५ बजे मेचीनगर ११ सृजनशील टोलस्थित भित्री सडकखण्डमा धाइजनबाट तेलीबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ४४५९ न.को मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प २४८९ न. को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । सो दुर्घटनामा चार जना घाइते भएका छन् । मोटरसाइकल चालक मेचीनगर-१२ बस्ने बर्ष ५८ का बृहष्पति पाण्डे , सोही मोटरसाइकलमा पछाडी सवार बर्ष ६३ का भवानी तिमल्सिना , स्कुटी चालक बुद्धशान्ति-३ बस्ने बर्ष ६३ का केदार खतिवडा र सोही स्कुटीमा पछाडी सवार बर्ष ६१ की सावित्रा खतिवडा घाइते भएका हुन् ।

घाइतेहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक किरण राईको कमाण्डमा प्रहरी टोली खटिएर दुबै सबारी साधन नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया