Online Bichar
मंगलबार, कार्तिक १८, २०८३ | Tuesday, November 3, 2026

झापा, १७ कार्तिक २०८३ । झापामा लागूऔषधसहित तीनजना कारोबारी पक्राउ परेका छन् । गएराति ८ः३० बजे मेचीनगर ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१० बस्ने बर्ष २९ का मेहबुब आलम मियाँलाई लागूऔषध ल्याउँदै गर्दा पक्राउ गरेको हो । उनको साथबाट प्लाष्टिकसहित १४ ग्राम २९० मिलिग्राम र प्लाष्टिकबाहेक ११ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै हिजो दिउँसो शिवसताक्षीमा दुईजना कारोबारी पक्राउ परेका छन् । दिउँसो २ः३० बजे शिवसताक्षी-६ बस्ने वर्ष १९ का गंगाराम मर्डीले लागूऔषध ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा शिवसताक्षी ६ हवल्दार चौकमा रहेको सूर्य पौडेलको पुरानो काठको घरमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली जाँदा कारोबारीहरु प्रहरीलाई देखेर भाग्न खोजेका थिए ।

उनीहरुलाई नियन्त्रणमा लिई उक्त घरमा खोजतलास गर्ने क्रममा सोही घरको दोस्रो तलामा प्यासेजको दक्षिणतर्फको कोठाभित्र रहेको टिनको दराजभित्र लुकाई राखेको कालो रङको प्लाष्टिकभित्र प्लाष्टिकसहित ३ ग्राम १८० मिलिग्राम र प्लाष्टिकबाहेक २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । गंगाराम मर्डीसंगै शिवसताक्षी-५ बस्ने वर्ष ४० का राजेन्द्र गणेश पनि पक्राउ परेका छन् । घरधनी शिवसताक्षी ६ बस्ने बर्ष ४१ का सूर्य पौडेल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया