Online Bichar
आइतबार, कार्तिक १६, २०८३ | Sunday, November 1, 2026

काठमाडौं, १५ कार्तिक २०८३ । बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास भएको छ । त्यो हाल न्यूनचापीय क्षेत्रका रूपमा रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातिर अघि बढ्ने र आज (नोभेम्बर १) मध्याह्नसम्ममा दक्षिण–पश्चिम तथा त्यससँग जोडिएको दक्षिण–पूर्वी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । त्यसपछि बिस्तारै त्यो भोलि (नोभेम्बर २) पश्चिम–मध्य बंगालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा विकसित हुने प्रबल सम्भावना रहेको भारतको मौसम विभागले जनाएको छ ।

मंगलबार (नोभेम्बर ३) त्यो प्रणाली शक्तिशाली चक्रवाती आँधीका रूपमा दक्षिण आन्ध्र प्रदेशको तट पार गर्ने प्रबल सम्भावना छ । त्यसको प्रभावले भारतका केही क्षेत्रमा फेरि वर्षा हुन सक्ने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन् ।

“बंगालको खाडीमा बनेको अर्को मौसमी प्रणालीले भारतका केही क्षेत्रमा फेरि वर्षा र समस्या निम्त्याउन सक्ने देखिन्छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

तर, त्यो प्रणाली नेपालतर्फ आउने वा त्यसको प्रभावले यहाँ वर्षा हुने सम्भावना नदेखिएको उनले स्पष्ट पारेका छन् ।

“नेपालका लागि भने राहतको कुरा छ—अहिलेसम्मका सबै मोडेल हेर्दा यो प्रणाली नेपालतर्फ आउने वा यसको प्रभावले नेपालमा वर्षा गराउने सम्भावना देखिएको छैन,” उनले भनेका छन् ।

बंगालको खाडीमा हालै विकसित ‘अर्नब’ चक्रवातको ‘अवशेष’को प्रभावले नेपालका धेरै स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा बाक्लो हिमपात भएको थियो ।

 

तपाईको प्रतिक्रिया