Online Bichar
शुक्रबार, कार्तिक १४, २०८३ | Friday, October 30, 2026

मुस्ताङ, १२ कार्तिक २०८३ । मनाङबाट राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास गरी मुस्ताङ आइपुगेका एक पथप्रदर्शकको मृत्यु भएको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको उपचारका क्रममा बुधबार ९कात्तिक ११० राति प्रदेश अस्पताल जोमसोममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी ईश्वर महतले जानकारी दिए ।

पथप्रदर्शक कुलुङ हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सका महिला पर्यटकलाई लिएर मनाङ हुँदै थोरङला पास पुगेर बुधबार राति मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१, मुक्तिनाथ आइपुगेका थिए ।

सूचना अधिकारी एवं प्रहरी निरीक्षक महतका अनुसार, कुलुङ मुक्तिनाथको एक होटेलमा बाथरुममा नुहाउन गएकामा लामो समयसम्म बाहिर ननिस्किएपछि त्यसका सञ्चालकले इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई जानकारी गराएका थिए ।

पथप्रदर्शक कुलुङ बाथरुममा अचेत अवस्थामा भेटिएका थिए । तत्काल उनलाई उपचारका निम्ति प्रदेश अस्पताल जोमसोममा भर्ना गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया