Online Bichar
बुधबार, कार्तिक १२, २०८३ | Wednesday, October 28, 2026

झापा, ११ कात्तिक २०८३ । झापामा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा गाउँपालिका–२, सालमारा निवासी ३६ वर्षीय नसीम अख्तर मियाँ र ३० वर्षीय सलमान मियाँ रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको  BR 37 AA 5380 र मे ७ प ३ नं. मोटरसाइकलमा सवार दुई जनालाई झापाको झापा गाउँपालिका–२, सालमारा क्षेत्रमा शङ्का लागेर चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा उनीहरूको साथबाट प्लास्टिकसहित १६६ ग्राम ३४० मिलिग्राम र प्लास्टिकबाहेक १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले लागुऔषधसँगै मोटरसाइकल र मोबाइलसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया