काठमाडौं, १० कार्तिक २०८३ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ । योसँगै टोलीले प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १३३ रनका लक्ष्य पछ्याएको जनकपुरले १९.३ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।
जनकपुरलाई रोक्न युनिसविक्रम ठकुरीले निर्णायक भूमिका खेले । उनले लिएका तीन विकेट महत्त्वपूर्ण रह्यो । उनले १३.१ ओभरमा हर्मितलाई ‘कट एन्ड बोल्ड’ गरे । त्यसपछि हर्मित र जिम्मी निशमबीचको ३२ रनको साझेदारी तोडिएको थियो ।
उनले पछि निशम र आदित्य मेहतालाई लगातार दुई बलमा पभेलियन फर्काएका थिए । यी दुई विकेट गुमेपछि जनकपुर दबाबमा परेको थियो ।
उनीसँगै हुसेन तलतले पनि तीन विकेट लिए । कर्णालीले उनलाई डेथ ओभरमा प्रयोग गर्यो । उनले १८.३ ओभरमा अभिषेक तिवारीको विकेट लिएपछि जनकपुरमाथि थप दबाब बढेको थियो । अभिषेकले तलतलाई लागतार छक्का प्रहार गर्ने प्रयास गर्दा गुल्सन झाबाट क्याच भएका थिए ।
त्यसैगरी, नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका थिए ।
जनकपुरले ब्याटिङमा सन्तोषजनक प्रर्दशन गर्न सकेन । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका अभिषेक तिवारीले २० रन बनाए । जुन व्यक्तिग रूपमा ब्याटरले बनाएको सर्वाधिक रन रह्यो । उनले १७ बलमा दुई छक्का प्रहार गरे ।
मोइन अली र कप्तान हर्मित सिंहले समान १९ रन बनाए । जिम्मी निसमले १५, मयन यादवले १४ र अनिलकुमार साहले ११ रन बनाए ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको थियो ।
कर्णालीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको हो ।
टोलीको लागि अरिफुल इस्लामले सन्तोषजनक प्रर्दशन गरे । उनले सर्वाधिक ४३ रन बनाए । जसमा उनले दुई शक्तिशाली छक्का प्रहार गरेका थिए । पवन सर्राफले ३७ रन बनाए । मध्यक्रमलाई धानिरहेका उनले तीन छक्का प्रहार गरेका थिए । दिपक डुम्रेले १९ र गुल्सन झाले १२ रन जोड्नसके ।
यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा जोड्न सकेनन् । हुसेनले तीन रन बनाउँदा नन्दनले नौ रन बनाए । मार्क वाट, अकबर अली र सोमपाल एक रन बनाएर पभेलियन फर्किए र अविजित रहेका युनिस शून्यमै रोकिए ।
जनकपुरको निम्ति हर्मितले तीन विकेट लिए । राहुल यादव र मोइनले समान दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए ।






