Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारको मापदण्ड तय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको सचिवालयको बैठकले त्यसका लागि ६ वटा मापदण्ड बनाएको हो ।

एमाले सचिव योगेश भट्टराइले पार्टीको सचिवालयको बैठकले उम्मेदवासम्वन्धी मापदण्ड बनाएको जनाए । उनले प्रदेश कमिटीले यसैका आधारमा नाम सिफारिस गरेर पठाउनुपर्ने बताए । एमालेले तयार पारेको मापदण्डमा स्थानीय तहको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हारेका तथा समानुपातिकको बन्द सूचीमा भएकाहरुलाई राष्ट्रियसभा सदस्य नबनाउने उल्लेख छ ।

संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेको, पार्टीमा लामो योगदान गरेको, पार्टीमा वैचारिक आवद्धता राख्दै समाजसेवा, संस्कृति, कला साहित्य, विज्ञान, प्रविधि लगायतका सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको, स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समावेशी सूचीमा नाम समावेश नभएकालाई प्रदेशसभाको उम्मेदवार बनाउन सक्ने जनाएको छ । पार्टीले उम्मेदवार सिफारिस गर्दा भौगोलिक र सामाजिक सन्तुलन पनि मिलाउन आग्रह गरेको छ ।

प्रदेश नम्बर एकका सदस्यसमेत रहेका धनकुटाबाट प्रदेशसभामा निर्वाचित सांसद इन्द्रमणि पराजुलीले पार्टीले बनाएको मापदण्डलाई आधार मानेर योग्य व्यक्तिलाई उम्मेदवारको लागि सिफारिस गरिने बताए । समय थोरै भएकाले अब छिटै छलफल थालिने उनले बताए । प्रत्येक प्रदेशबाट आठजना निर्वाचित भएर आउने छन् भने सरकारको सिफासिरमा राष्ट्रपतिले तीनजनालाई राष्ट्रियसभामा मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा, प्रदेशसभा र प्रदेश सरकार गठनसम्बन्धी छलफल गर्न गठित बाम गठबन्धनको ६ सदस्यीय कार्यदलले शुक्रबारबाट काम थालेको छ । कार्यदलमा रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङले एमालेको संसदीय दल सिंहदरवारमा शुक्रबार भएको पहिलो दिनको छलफलमा विषयबस्तुमात्र प्रवेश भएको छ ।

‘ छलफल सुरुमात्र भएको छ केही पनि निर्णय भएको छैन ’ उनले भने ‘ आइतबार ३ बजे बस्ने बैठकले अब कसरी अघि बढ्ने भन्ने थप टुंगो लगाउने छ ।’ शुक्रबारको बैठकमा सदस्यहरु शंकर पोखरेल, वर्षमान पुन सहभागी भएनन् । पोखरेल उपत्यका बाहिर भएको र पुन बिरामी भएकाले बैठकमा आउन नसकेको नेम्वाङले जनाए ।

पाण्डे भने बैठक सकिएपछि आएका थिए । बाम गठबन्धनको मंगलबारको बैठकले एमालेका तर्फबाट नेम्वाङसहित सुरेन्द्रप्रसाद पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र मातृकाप्रसाद यादव रहेको कार्यदल गठन गरेको थियो ।

एमालेले माघ ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई भनेको छ । २१ वटा राजनीतिक दलले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनको समय दिएर आयोगमा दल दर्ता गर्न आह्वान गरे अनुसार शुक्रबारसम्मको अन्तिम दिनसम्म १५ दलले निवेदन दिएका हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निवेदन दिने राजनीतिक दलहरूमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल रहेका छन् । निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सावजनिक गरिसकेको छ। कार्यतालिका अनुसार आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ ।

तपाईको प्रतिक्रिया