Online Bichar
सोमबार, आश्विन २६, २०८३ | Monday, October 12, 2026

शिवसताक्षी, २५ असोज २०८३ । शिवसताक्षी नगरपालिका–६, शिवगञ्जस्थित प्रतिष्ठित जनआदर्श नमुना माध्यमिक विद्यालयमा कक्षा ११ को रजिस्ट्रेसन फारम नै नभरेका र परीक्षा समेत नदिएका विद्यार्थीलाई सीधै कक्षा १२ को परीक्षा दिलाएर उत्तीर्ण गराइएको रहस्य खुलेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको अनलाइन प्रणालीको दुरुपयोग गर्दै विद्यालयको लेटरप्याड र प्रधानाध्यापकको हस्ताक्षर कीर्ते गरी आर्थिक लाभ उठाउने तत्कालीन लेखापाल रेवतीरमण खनाललाई विद्यालय व्यवस्थापन समितिले पदबाट बर्खास्त गरेको छ ।

नेकपा (एमाले) शिवसताक्षी नगर कमिटीका सांस्कृतिक विभाग प्रमुख तथा स्थानीय राजनीतिमा सक्रिय खनालले यो धन्दा निकै योजनाबद्ध ढंगले चलाएको भेटिएको छ । उनले कक्षा ११ मा रजिस्ट्रेसन फारम भरेर १२ मा पढाइ छाडेका पुराना विद्यार्थीहरूको अभिलेखमाथि ‘डिजिटल कैँची’ चलाएको पुष्टि भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयको सफ्टवेयरमा रहेको विवरण सच्याउने सुविधाको दुरुपयोग गर्दै उनले पुराना विद्यार्थीको नाम, जन्ममिति र अभिभावकको विवरण हटाएर नयाँ ३ जना विद्यार्थीको विवरण प्रणालीमा दाखिला गराएका थिए । त्यसपछि विद्यालयको छाप र प्रधानाध्यापकको दस्तखत कीर्ते गरी तयार पारिएको नक्कली प्रवेशपत्रका आधारमा ती परीक्षार्थीहरूले दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएका थिए । नतिजा आउँदा उनीहरू उत्तीर्ण समेत भए ।

कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरूले असारमै पाउनुपर्ने शैक्षिक प्रमाणपत्र असोजसम्म पनि नपाएपछि विद्यालय प्रशासनमा बुझ्न पुगेका थिए। प्रशासनले अभिलेख हेर्दा ती विद्यार्थीको कुनै पनि रेकर्ड फेला नपर्दा शंका लागेपछि विद्यालय प्रशासनले विगतको ढड्डा र अभिलेख पल्टाएर हेर्दा कक्षा ११ को रजिस्ट्रेसन र १२ को परीक्षा दिने विद्यार्थीको नाम, तस्बिर तथा व्यक्तिगत विवरण कतै मेल खाएको भेटिएन । त्यसपछि परीक्षा केन्द्रको ट्रिप्लिकेट कपी र विद्यालयको लेजर भिडाएर हेर्दा योजनाबद्ध कीर्तेको पर्दाफास भएको थियो । अनुसन्धानका क्रममा प्रवेशपत्रमा प्रयोग गरिएको प्रधानाध्यापकको हस्ताक्षर समेत नक्कली पाइएको विद्यालय प्रशासनको भनाइ रहेको छ ।

खनालले सोझा विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै प्रतिविद्यार्थी २२ हजारका दरले कुल ६६ हजार रुपैयाँ असुल गरेको आरोप छ । तर, उक्त रकम विद्यालयको खातामा दाखिला नगरी खनालले सीधै व्यक्तिगत रूपमा चलाएको देखिन्छ । उल्टै परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्ने राजस्व भने विद्यालयकै खाताबाट तिरेर उनले दोहोरो बदमासी गरेका थिए । विद्यार्थीहरूले मोटो रकम बुझाए पनि आफूहरूलाई रसिद समेत नदिई अलपत्र पारिएको गुनासो गरेका छन् ।
खनालको आर्थिक अनियमितता यतिमा मात्र सीमित छैन। चार वर्षअघि उनी सोही विद्यालयको बिहानी सत्रको लेखापाल हुँदा विद्यालयलाई बुझाउनुपर्ने ३ लाख ४३ हजार रुपैयाँ पुरानो बक्यौता उनले गत असोज २२ गते मात्र आफ्नो तलबबाट कट्टा गरेर चुक्ता गरेका थिए ।

कीर्ते र आर्थिक हिनामिनाको अकाट्य प्रमाण भेटिएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले गत असोज १३ गते खनालसँग तीन दिने लिखित स्पष्टीकरण सोधेको थियो । तर, उनले स्पष्टीकरणको कुनै जवाफ नदिएपछि समितिले उनलाई तत्काल लागू हुने गरी सेवाबाट बर्खास्तसमेत गरिसकेको छ ।

करिब महिना दिनअघि मात्र सरुवा भई आएका प्रधानाध्यापक रमेश दाहालले यो घटना विद्यालयको मर्यादामाथिको गम्भीर प्रहार र अक्षम्य अपराध भएको बताएका छन्। उनले दोषीमाथि कानुनी निकायमार्फत कडा कारबाही अघि बढाउने तयारी भइरहेको स्पष्ट पारे ।

यता, आरोपित खनालले भने आफूलाई मात्र ‘बलिको बोको’ बनाउन खोजिएको जिकिर गरेका छन्। विद्यालयले ३ जना भनेपनि आफूले २ जना विद्यार्थीको भविष्य सम्झेर ‘सहयोग’ मात्र गरिदिएको उनको दाबी छ । छुट रजिस्ट्रेसन प्रक्रियाबारे तत्कालीन प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीलाई पूर्वजानकारी गराएको र उठाएको सम्पूर्ण रकम पनि उनैलाई बुझाएको खनालको भनाइ छ । यस्तो काम विगतमा पूर्वप्रअ र लेखापाल दिनेश श्रेष्ठले पनि गर्ने गरेको गम्भीर आरोप लगाउँदै उनले अझै विद्यालयबाट आफूले २ लाख १ हजार ६ सय रुपैयाँ लिन बाँकी रहेको दाबी गरेका छन् ।

खनाल भन्छन् “ विद्यार्थीबाट लिएको रकम मैले एकैचोटी नलिएको र लिएको रकम आफूले विद्यालयबाट पाउने पर्ने रकमबाट मिलान गर्ने पूर्व प्रधानाध्यापकलाई मौखिक जानकारी हो । अरु म केही जान्दिनँ ।”

यस विषयमा अझ प्रष्ट हुन पूर्व प्रधानाध्यापक अधिकारीलाई बारम्बार सम्पर्क गर्दा पनि उनको फोन उठेन भने शिवसताक्षी नगरका शिक्षा शाखा प्रमुखसँग बुझ्दा यो विषयमा आफू जानकार नभएको बताए ।

 

तपाईको प्रतिक्रिया