काठमाडौं, २५ असोज २०८३ । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान गेग्रानसहितको आकस्मिक बाढी आउनुअघि उपल्लो क्षेत्रका बासिन्दाले जमिन हल्लिएको महसुस गरेको बताएका छन् ।
आईरीस भनेर चिनिने अमेरिकाको अर्थस्कोप कन्सोर्टियम संस्थाको भूकम्प अनुगमन प्रणालीमा पनि नेपालको ककनी स्टेसनले जमिन कम्पनको तरङ्ग रेकर्ड गरेको देखिन्छ ।
अर्थस्कोपले विश्वका विभिन्न स्थानमा जडान गरिएका सिस्मोमिटर (भूकम्प मापन गर्ने उपकरण) बाट प्राप्त जमिनको कम्पनसम्बन्धी तथ्यांक देखाउँछ । यो सिस्टममा नेपालका भूकम्प मापन उपकरणहरू पनि जोडिएकाले नेपालका भूकम्पका रेकर्डहरू यसमा हेर्न सकिन्छ ।
यसलाई हेर्दा विश्व समन्वित समय (यूटीसी) अनुसार शनिबार राति १०:४० देखि १०:४५ बजेको बीचमा जमिन हल्लिएको संकेत छ । यो भनेको नेपाली समय दिउँसो पौने चार बजे आसपास हो ।
यसबाट बूढीगण्डकीमा बाढी आउनुअघि नै नेपालको जमिन राम्रैसँग हल्लिएको संकेत छ । तर त्यो कम्पन, चुमनुब्री पहिरोको कारण हो वा यो कम्पनपछि चुमनुब्रीमा पहिरो गएको हो भन्ने स्पष्ट हुन बाँकी छ ।
भूकम्प मापन केन्द्रमा छैन रेकर्ड
ककनी स्टेसनले क्याप्चर गरेको सो कम्पन काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अभिलेखमा भने छैन । केन्द्रको भूकम्प मापन तथा साइस्मिक हजार्ड मूल्यांकन शाखाका वरिष्ठ भूकम्पविद डा. मुकुन्द भट्टराईले नेपालमा पछिल्लो २४ घण्टामा भूकम्पको रेकर्ड नभएको जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले पनि आफूहरूले भूकम्प मापन केन्द्रका भूगर्भविदसँग यसबारे बुझेको र उनीहरूले गोरखा वा त्यस आसपासको क्षेत्रमा नयाँ भूकम्प रेकर्ड नभएको जानकारी दिएको बताए । ‘उहाँहरूले पहिरोको आवाजले कम्पन भएको हुनसक्छ भन्नुभएको छ,’ डा। उप्रेतीले अनलाइनखबरसँग भने ।
त्यसोभए अर्थस्कोपमा देखिएको तरंग के हो ?
अब ककनी स्टेसनमा भूकम्पको संकेत देखिने तर भूकम्प मापन केन्द्रको अभिलेखमा नहुने कसरी भयो भन्ने प्रश्न उठ्छ ।
यसको प्राविधिक तथा वैज्ञानिक कारणबारे बुझ्नुपर्ने भूगर्भविदहरू बताउँछन् ।
भूगर्भविदहरूका अनुसार स्थानीय तहमा अनुभव भएको पहिरो, चट्टान खसाइ वा बाढीको कम्पन भूकम्प मापन गर्ने यन्त्रमा अभिलेखित हुन्छ, तर त्यो भूकम्पको रूपमा सूचीकरण भने हुँदैन ।
रसुवा–भोटेकोशी बाढीको बेला पनि नेपाल–तिब्बत सीमा क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प मापन भएको थियो । सुरुमा सोही भूकम्पका कारण पहिरो खसेर भोटेकोशीको मुहान थुनिएको र पछि खुल्दा विनाशकारी रूप लिएको अनुमान गरिएको थियो । तर पछि भूकम्प नभई हिमनदीको एउटा भाग जमिनमा बज्रिँदा तरंग सिर्जना भएको पत्ता लागेको थियो ।
अहिले गोरखाको उत्तरी भेगका बासिन्दाले महसुस गरेको कम्पन पनि रसुवा–भोटेकोशीको जस्तै प्रकृतिको हुनसक्ने भूगर्भविद डा। लोकविजय अधिकारी बताउँछन् ।
डा. अधिकारीले भने, ‘गोरखा वा आसपास पछिल्लोपटक भूकम्प रेकर्ड भएको छैन । जमिन हल्लिएको महसुस हुनुमा भोटेकोशीको जस्तै हुनसक्छ ।’ यसबारे विस्तृत अध्ययन भने बाँकी नै रहेको अधिकारीले बताए ।
भूकम्प मापन गर्ने यन्त्र जमिनको विस्थापन तथा कम्पन मापन गर्ने अत्यन्त संवेदनशील उपकरण हो । लाखौँ टन माटो, ढुङ्गा वा हिउँ भीरबाट खसेमा वा बाँध फुटेर नदीमा पानीको ठूलो बहाव उत्पन्न भएमा त्यसले जमिनमा भूकम्पीय ऊर्जा पैदा गर्ने जानकारहरू बताउँछन् ।
यदि त्यसको नजिक (केही किलोमिटरदेखि केही दश किलोमिटरको दूरीभित्र) फराकिलो आवृत्ति दायराका भूकम्पीय तरङ्ग मापन गर्ने केन्द्र छ भने उक्त उपकरणले जमिनको कम्पन स्पष्ट रूपमा अभिलेख गर्न सक्छ ।
भूगर्भशास्त्रमा यसलाई वातावरणीय भूकम्प विज्ञान भनिन्छ । यस विधिबाट पहिरो खसेको समय, कम्पनको अवधि र पहिरोमा खसेको पदार्थको परिमाणसमेत अनुमान गर्न सकिन्छ ।अनलाइनखबरबाट






