काठमाडौं, २५ असोज २०८३ । आइतबार बिहान गोरखाको बूढीगण्डकी नदीमा अचानक आएको भीषण बाढीले ठूलो क्षति गरेको छ ।
“असोज २५ गते बिहान गोरखाको चुमनुब्रि गाउँपालिका–६ लोप्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गई सोही स्थान भएर बहने बूढीगण्डकी नदी थुनिई लेदो सहितको ठूलो बाढी जाँदा भौतिक क्षति भएको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले भने ।
कार्यकारी प्रमुख उप्रेतीका अनुसार बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याकचेत स्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगाएको छ । सोही स्थानमा एक घर बगाएको र एक घरमा बाढी पसेको छ ।
गोरखाको धार्चे गाउँपालिका–५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुंगे पुल पनि बाढीले बगाएको छ । धार्चे गाउँपालिका–३ सल्लेरी स्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिका र वरपर रहेका ७र८ वटा घरहरू बगाएको कार्यकारी प्रमुख उप्रेतीले बताए । आयोजनाका १२ कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचनामा क्षति गरेको छ । “आरुघाट गाउँपालिका–९ नयाँपुल स्थित गोरखाको आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तिन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगाएर क्षति भएको छ,” कार्यकारी प्रमुख उप्रेतीले भने ।
आरुघाट गाउँपालिकाको माछिखोलास्थित तल्लो बस्तीमा बाढी पसेको र २०/२२ घरहरू जोखिममा रहेको उनले जनाए । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल पनि बाढीले बगाएको छ ।
कार्यकारी प्रमुख उप्रेतीका अनुसार बुढीगण्डकी (३४१ मेगावाट) मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बाढीले बगाएको छ । बाढीले दुई वटा टेलिफोन टावर र ५० वटा बिजुलीको पोल क्षति भएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका विशालनगरका करिब १०० घरमा लेदो पसेको छ । बूढीगण्डकी नदीमा आएको बाढीले दोभान खोला २४.५ मेगावाट क्याम्प क्षेत्रका केही क्षति गर्नुको साथै बेलिब्रिज बगाएको छ ।






