Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

काठमाडौं, २५ असोज २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् ।

उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बूढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् ।

‘बाढीमा परी ५ जना बेपत्ता हुनुभएको सूचना प्राप्त भएको छ । जसको खोजी कार्य तीव्र पारिएको छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।

बाढीले झोलुङ्गे र पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढीगण्डकी हाइड्रो क्याम्प क्षेत्र, निर्माण उपकरण र वरिपरि रहेका घरहरू बगाएको उनले भनेका छन् ।

‘बाढीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली खटिएर नदी तटीय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) जिल्लाका २२१ जना प्रतिकार्यकर्ताहरूलाई तुरुन्त प्रतिकार्यमा खटिन एसएमएस पठाइयो ।’

यस्तै, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखामा गोरखा, धादिङ, चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुईपटक गरी करिब २ लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको उनले जानकारी दिएका छन् ।

यस्तै, गोरखाको सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी हाइड्रोका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रधानमन्त्री बालेनले जानकारी दिएका छन् ।

‘प्रभावित क्षेत्रमा अहिले पनि खोजी तथा उद्धार जारी छ । नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बल, नेपालका १७७ गरी ४३७ जना सुरक्षाकर्मी र नेपाली सेनाको चारवटा हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ,’ प्रधानमन्त्रीले भनेका छन् ।

कारण पत्ता लगाउन विज्ञ टोली परिचालन

प्रधानमन्त्री बालेनले घटनाको कारण पत्ता लगाउन भूगर्भविद्सहितको तीनजनाको टोली ड्रोनसहित परिचालन गरिएको जनाएका छन् । ‘नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ,’ उनले भनेका छन् ।

प्राधिकरणको विपद् प्रतिकार्य कमान्ड पोष्स्को बैठक निरन्तर चलिरहेको र बैठकबाट बाढीको निरन्तर अनुगमन, अवस्था विश्लेषण र आवश्यक सूचना सम्प्रेषण तथा प्रतिकार्यका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय, सहजीकरण गर्नुका साथै निर्देशन समेत दिइएको उनले बताएका छन् ।

यस्तै, सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सडक संचालन तथा बेलिब्रिज संभाव्यता अध्ययनका लागि खटिसकेको प्रधानमन्त्री बालेनले बताएका छन् ।

‘सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधारहरू पुनस् सुचारु गर्न आवश्यक कदम अगाडि बढाइसकेको छ। आरुघाटमा बेलीब्रिज जडानको लागि तयारी थालिसकिएको छ,’ उनले भनेका छन् ।

यस्तै, उनले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल र सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया