झापा, २३ असोज २०८३ । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीन महिनाका शिशुको मृत्यु भएको छ ।
आज दिउँसो करिब १ः२० बजे सेक्टर डी२, हट नं. नखुलेको स्थानमा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी श्रीमती ६२ वर्षीया आशा तामाङ, छोरा ३४ वर्षीय फुर्बासिंह तामाङ र बुहारी ३८ वर्षीया बिमला भारतीबीच घरायसी विषयलाई लिएर विवाद भई झैँझगडा भएको थियो ।
सोही क्रममा मनबहादुर तामाङले बुहारी बिमला भारतीलाई कुटपिट गर्दा उनको काखमा रहेको तीन महिनाका छोरा सामेल तामाङलाई भित्री चोट लागेको थियो । घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा दिउँसो १४ः०५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






