झापा, २२ असोज २०८३ । उत्कृष्ट पत्रकारका रुपमा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । बिर्तामोड–५ स्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औँ वार्षिक साधारणसभाका अवसरमा उत्कृष्ट पत्रकारका रुपमा प्रतिदिन दैनिकका सम्पादक राजवंशीसहित उत्कृष्ट शेयर सदस्य र कर्मचारीलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा बिहीबार भएको साधारणसभामा विभिन्न विधामा उत्कृष्ट घोषित भएका सदस्य तथा कर्मचारीलाई नगदसहित सम्मान गरिएको हो भने उत्कृष्ट पत्रकारका रूपमा प्रतिदिन दैनिकका सम्पादक राजवंशीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट उद्यमीतर्फ लीला लिम्बू, उत्कृष्ट बचतकर्तातर्फ भीमबहादुर लिङ्देन, चेतराम दुलाल र सन्तोष साह तथा उत्कृष्ट कर्मचारीतर्फ रेनुका सुब्बालाई सम्मान गरिएको थियो।
त्यस्तै सम्पादक राजवंशीलाई वर्ष उत्कृष्ठ पत्रकारका रुपमा नगदसहित सम्मान गरिएको थियो । राजवंशी विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् ।
साधारणसभाको बन्दसत्रमा भने संस्थामा रिक्त रहेका दुई सञ्चालक समिति सदस्य पदको निर्वाचन गरिएको थियो। निर्वाचनबाट अनिलकुमार साह र कर्णकुमारी प्रधान सर्वसम्मत निर्वाचित भएका छन्।
रिक्त पद पूर्तिका लागि अधिवक्ता खेमनाथ भट्टराईको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिका सदस्यमा पत्रकार उद्धव पुरी र रिता सापकोटा थिए।
अध्यक्ष गिरीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ सम्म संस्थामा १ हजार ५ सय १५ जना शेयर सदस्य छन्। संस्थाको शेयर पुँजी ८५ लाख ९२ हजार ४ सय रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
साधारणसभामा लेखा समिति संयोजक हरिप्रसाद दाहालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाका उपाध्यक्ष तथा धितो निरीक्षण उपसमितिका संयोजक टंकप्रसाद भेटवालले स्वागत तथा प्रतिवेदन र सचिव तथा ऋण उपसमितिका संयोजक इन्द्रनारायण श्रेष्ठले सचिवको प्रतिवेदन प्रस्तुत गरे।
निमित्त व्यवस्थापक सापकोटाले व्यवस्थापकको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सञ्चालन पनि उनले नै गरेकी थिइन्। साधारणसभाकै अवसरमा संस्थाका कर्मचारीलाई ब्याग वितरणसमेत गरिएको थियो।






