Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का

गौरादह, १ चैत्र । खानेपानी तथा सरसफाई उपभोक्ता समिति गौरादहको निर्वाचन नजिकिंदै जाँदा गौरादहमा चुनावी सरगर्मी बढेको छ ।

चैत्र १६ गते सम्पन्न हुने निर्वाचनमा आफ्नो पक्षमा मतपरिणाम ल्याउन नेता तथा कार्यकर्ताहरु भोट माग्न मतदाताको घर आगनमा पुग्न थालेका छन् । खानेपानीको निर्वाचनमा तत्कालीन नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी आफ्नो उम्मेदवार सहित चुनावी मैदानमा उत्रिएको छ भने नेपाली काँग्रेस राप्रपा लाई साथ लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा दुई प्यानल बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपाले युवा नेता दुर्गा गौतमलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ । सामाजिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएका गौतम यस अघि सोही संस्थामा उपाध्यक्ष रहेका थिए । त्यसैगरि नेपाली काँग्रेसले शैक्षिक व्यक्तित्व बाबुराम भण्डारीलाई अध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।

शैक्षिक तथा बौद्धिक व्यक्तित्वका रुपमा चिनिएका भण्डारी यस अघि पनि सोही संस्थाका अध्यक्ष रहेका थिए । सचिव पदमा भने नेकपाले शैक्षिक तथा बौद्धिक व्यक्तित्व डण्डीराज घिमिरेलाई अघि सारेको छ । नेपाली काँग्रेस राप्रपा गठबन्धनले सचिव पदमा देवेन्द्र कुमार खड्कालाई उम्मेदवार बनाएको छ । खड्का राप्रपा पक्षका हुन् । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यअवधि ३ वर्षको रहने छ । यस संस्थामा २२५६ जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया