काठमाडौं, २२ असोज २०८३ । भारतको दिल्ली प्रहरीले विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गान्धी, प्रियंका गान्धी वाड्रासहितका नेताविरुद्ध जाहेरी दर्ता गरेको छ । यही अक्टोबर ७ मा भएको विपक्षी गठबन्धनको प्रदर्शनसँग सम्बन्धित घटनामा प्रहरीले तीन जाहेरी दर्ता गरेको हो ।
जाहेरीमा प्रहरीमाथि आक्रमण, सरकारी काममा बाधा पुर्याएको, धक्कामुक्की तथा अभद्र व्यवहार गरेको र शान्ति–सुरक्षा तथा कानुन–व्यवस्था प्रभावित पारेको आरोप लगाइएको छ । जाहेरीमा राहुल र प्रियंकासहित अरू विपक्षी नेताको नाम समेत उल्लेख रहेको त्यहाँको प्रहरीले जनाएको छ ।
‘इन्डिया’ गठबन्धनका सांसदहरू निर्वाचन आयोगको विशेष गहन पुनरवलोकन ९एसआईआर०मा कथित अनियमितताको विरोधमा जन्तरमन्तरतर्फ मार्च गर्ने क्रममा प्रहरीले उनीहरूलाई रोकेर नियन्त्रणमा लिएको थियो ।
राहुललाई बाराखम्बा रोड प्रहरी कार्यालय लगिएको थियो । उनले संविधान र लोकतन्त्रको रक्षाका निम्ति कांग्रेससहित विपक्षी दल सडकमा उत्रिन, गिरफ्तारी दिन र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताएका थिए । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने उनको भनाइ थियो ।
प्रियंका गान्धी वाड्रालाई छत्रसाल स्टेडियम प्रहरी कार्यालय लगिएको थियो । उनले प्रदर्शनकारी सांसदमाथि प्रहरीले बल प्रयोग गरेको आरोप लगाएकी छन् ।






