काठमाडौं, २२ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारका लागि तय गरिएको मतदान शुक्रबारलाई सारियो । निर्वाचन समितिले मतदानका लागि आवश्यक मतपत्र समयमै छाप्न नसकेपछि निर्वाचनको समय धकेलिएको हो । बिहीबार साँझ मात्र मतपत्र छपाइको काम सकिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार, महाधिवेशनमा ८५० जनाले मनोनयनपत्र दर्ता गराएका थिए । उनीहरूको उमेदवारीको वैधता परीक्षण गर्न धेरै समय लागेकाले मतपत्र छपाइमा ढिलाइ भएको हो । कुल २३ वटा मतपत्र डिजाइन गर्दा जम्मा एक लाख ८० हजार आवश्यक पर्ने भए पनि समितिले दुई लाख प्रति मतपत्र छापेको छ ।
उनले भने, “८५० जनाले मनोनयन पत्र दर्ता गराउनु भएको छ । उहाँहरूको वैधताका विषयको परीक्षण सकिएको छ । संख्या धेरै भएपछि समय लाग्यो । २३ वटा मतपत्र आवश्यक हुन्छन् । डिजाइन गरिएको छ । एक लाख ८० हजार मतपत्र जम्मा आवश्यक हुने भयो । हामीले दुई लाख मतपत्र छपाइ गरेका छौँ ।”
कांग्रेसको १५औँ महाधिवेशनअन्र्तगत शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएको छ । निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समयसीमा तोकेको छ । शुक्रबार साँझ ५ बजेसम्म मतदानको प्रक्रिया पूरा हुने दाबी गरिएको हो ।
तीन दिनभित्र मतपरिणाम
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने बताएका छन् । उनका अनुसार, मतपत्रको छपाइ, मतदानस्थल, मतपेटिका र जनशक्तिको तयारी पूरा भइसकेको छ ।
शुक्रबार मतदान भएपछि मतपेटिकाहरू मतगणनाका लागि कांग्रेस केन्द्रीय कार्यालय, सानेमा लगिनेछ । पार्टी कार्यालयमा १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने समितिको तयारी छ । मतगणनाका लागि पाँचसय कानुन व्यवसायी तयारी अवस्थामा राखिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए ।
उनले भने, “मत गणना गर्न जनशक्तिको अभाव हुँदैन । पाँचसय जना तयारी अवस्थामा राखेका छौँ । पार्टी कार्यालयमा स्थान पनि प्रशस्त छ । १२/१३ स्थलमा एकैपटक सुरु गर्छौँ । तीन दिनभित्र सबै नतिजा आउँछ । प्रतिनिधिहरूले दशैँ घरमै मनाउन पाउनुहुन्छ ।”
मतदानमा प्रविधिको प्रयोग किन भएन ?
निर्वाचन समितिले यसपटक डिजिटल भोटिङ (विद्युतीय मतदान) को प्रयोग गर्नेबारे प्राविधिक कम्पनीहरूसँग छलफल गरेको थियो । तर, उमेदवार र महाधिवेशन प्रतिनिधिहरूको संख्या अत्यधिक भएकाले प्रविधिको प्रयोग सम्भव नभएको सदस्यसचिव कटुवालले बताए ।
प्राविधिक अध्ययनका क्रममा डिजिटल प्रणालीबाट एकजना प्रतिनिधिलाई मतदान गर्न ४० मिनेटसम्म लाग्ने देखिएको थियो । यस हिसाबले सबै प्रतिनिधिले मतदान गरिसक्न तीन दिनभन्दा बढी समय लाग्ने भएपछि अन्तिम समयमा कागजको मतपत्र नै छाप्ने निर्णय गरिएको समितिले स्पष्ट पारेको छ । कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ ।






