काठमाडौं, २१ असोज २०८३ । रसुवामा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिका परिवार, बिमालेख त्याग गर्न चाहने र अन्य प्रभावितहरूका लागि बिमा रकम लिने प्रक्रियालाई अत्यन्तै सरल बनाइएको छ । नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार जीवन बिमा कम्पनीहरूले बाढी प्रभावितहरूका लागि बिमा दाबी प्रक्रियामा सहजीकरण गरेका हुन् ।
प्राधिकरणका अनुसार, बाढीबाट मृत्यु भएका व्यक्तिका परिवारले गर्ने बिमा दाबी, बिमालेख समर्पण (बिमा बीचमै छोड्नुपरेमा), बिमालेख कर्जा र परिपक्व (म्याचुरिटी) भुक्तानी प्रक्रियालाई खुकुलो बनाइएको छ ।
यसका लागि दाबीसम्बन्धी निवेदनमा दाबीकर्ताले बिमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण र दाबीकर्ताको नाता खुलाउनुपर्नेछ । र, दाबीकर्ताको परिचय एकिन हुने सरकारी जुनसुकै प्रमाणपत्र उल्लेख गर्नुपर्नेछ ।
बाढीमा बेपत्ता भएका व्यक्तिसँग नाता प्रमाणित गर्न आधिकारिक सरकारी निकायबाट बाढीमा बेपत्ता भएकोबारे उल्लेख गरिएको सिफारिस पत्र, सक्कल वा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपी बिमालेख निवेदनमा संलग्न गर्नुपर्नेछ ।
बाढीका कारण सक्कल बिमालेख नष्ट भएमा कम्पनीहरूले निःशुल्क प्रतिलिपि बिमालेख वितरण गर्नुपर्ने निर्देशन प्राधिकरणले दिएको छ । यसका साथै, बाढी प्रभावित बिमितले बिमालेख धितोमा लिएको कर्जाको ब्याज समयमै तिर्न नसकेको अवस्थामा ६ महिनासम्मका लागि ब्याज नलाग्ने वा कर्जा भुक्तानीको समय थप गरिने व्यवस्था समेत मिलाइएको छ ।






