Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १ चैत । नेपाल कम्युनिष्ट पार्टीले एकता प्रक्रिया टुंगो लगाउन गृहकार्य तीव्र पारेको छ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार पछिल्लो केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकताको विषयमा गृहकार्य गरिरहेका छन्।

पार्टीको केन्द्रीय तहमा एकता भए पनि जिल्ला कमिटी, जनवर्गीय संगठन र प्रदेशमा रहेको असन्तुष्टि मिल्न सकेको छैन। त्यस्तै विधानमै भएको पोलिटब्युरो गठनको व्यवस्था कार्यान्वयन भएको छैन।

महासचिव पौडेलले भने एकता प्रक्रिया टुङ्गो लगाउन सामान्य सुत्रको प्रयोग भैरहेको बताए।

‘बरिष्ठता र सक्षमलाई नेतृत्वमा ल्याउने हो’, पौडेलले भने, ‘दुई अध्यक्षले प्रस्ताव सचिवालयमा ल्याएपछि छलफल हुन्छ।’

बिहीबार अध्यक्षद्वयले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग एकताबारे बालुवाटारमा छलफल गरेका थिए। एकता प्रक्रियाको विषयमा बाहिर खुलेरै धारणा राखिरहेका नेपाललाई पनि छलफलमा सहभागी बनाउने तयारी भइरहेको सचिवालयका एक सदस्यले बताए।

दाहालले ‘छिट्टै एकता प्रक्रिया टुंगो लाग्ने’ धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्। एकताका लागि विभिन्न जिल्ला कमिटीमा नेतृत्वका लागि सिफारिस गरिएका नाममा आफ्नो पक्षका बरिष्ठ नेताहरूलाई पछाडि पारिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन्।

नेता नेपालले केही दिनअघि ‘एस म्यान’को खोजीले पार्टी एकता नटुंगिएको बताएका थिए। उनले पार्टी चलाउने विधि र प्रक्रिया नटुङ्ग्याइएको प्रति आपत्ति जनाएका थिए। उनले जनवर्गिय संगठन र जिल्ला किमिटीमा समेत सचिवालय गठन गरेर पार्टी एकता गर्नुपर्ने धारणा राखेका थिए।

यसअघि एकता प्रक्रिया टुंग्याउन गठन भएको कार्यदल काम गर्न नसकेपछि सचिवालयले भंग गरेको थियो।

तपाईको प्रतिक्रिया